खोटाङ भदौ–१२, ‘लौ आयो है राजेशपायलको गाउँको नास्पाती आयो है….’, ‘बुइपाको नास्पाती सकियो है, बुइपाको नास्पाती सकियो है…!’

दिक्तेलवजारको हाटडाँडामा हरेक बुधवार र शनिवार लाग्ने हटियामा को–को के–के वोलिरहेका छन् भन्ने ठम्याउन निक्कै हम्मे पर्छ । विहान ६ बजेदेखि भरेली हुने वजारमा माहुरी भन्केको जस्तो आवाज सुनिन्छ ।

त्यस्तैवीच, चर्चित गायक राजेशपायल राईको नाम चिच्याएर नभई भद्र आवाजमा पटक–पटक दोहोरिरहेको सुनिन्छ । राजेशपायल राई, बुइपा अनि नास्पातीलाई एकै ठाउँ मिसाएर निस्किरहने त्यो सानो–सानो स्वरको त्यो उर्दी पछ्याउँदै जाँदा हाटडाँडा प्रवेश गर्ने पुर्वपट्टी खाद्यान्न तथा अन्नवाली बिक्री गर्ने कक्षको नजिकै फेला पारिन्छ ।

गहुँगोरो पातलो अनुहार र ज्यान । सामान्य युवा पुस्ताकै हुलियामा रहेको युवा नास्पाती बेच्नमा तल्लिन देखिन्छ । युवाको दायाँपट्टि नास्पातीको डोको र अगाडी वोरामा केही नास्पातीहरु छन् ।

फर्साईलो स्वभावका युवा दुःख–सुखका गफ गर्दै नास्पाती वेच्छन्, वेचिरहन्छन् ।  । ठालु पल्टिँदैनन्, उत्ताउलो बन्दैनन्, न त लजाउँछन्, न त जिस्कन्छन् । राजेशपायलको नाम जोड्न छाड्दैनन् उनी जोडिरहन्छन् । ‘ल है सकियो है स्वर सम्राट राजेशपायल राईको गाउँको नास्पाती सकियो है ।’

‘वोल्नेको पिठो विक्छ…’ चल्तीको उखान त छँदैछ । उनले एकै पटकमा ख्यातिप्राप्त गायक राई, उनको जन्मस्थल बुइपा र नास्पातीको सम्बन्ध स्थापित गराई छिटो–छिटो आफ्नो नास्पाती विकाउने प्रयत्न स्वभाविक रुपमा गरिरहेका हुन्छन् । बुइपा र राजेशपायलको सम्बन्ध त छँदैछ । तर राजेशपायल र नास्पाती अनि बुइपा र नास्पातीको सम्बन्ध ? फेरि ती युवा र बुइपाको सम्वन्ध के ?

२ जना जुम्ल्याहा छोरीको वुवा २२ वर्षिय रुपक राई भ्याएसम्म आफ्नो फेहरिस्त सुनाउन खोज्छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलवजारको हाटडाँडामा निर्धक्क गर्वका साथ नास्पाती बेचिरहनुभएको रुपकको स्थायी घर उदयपुरको लिम्चिङबुङ गाउँपालिका वास्वोटे हो । ‘सानै उमेरदेखि बाहिर–बाहिरै हिँडियो, अरुकै घरमा बसियो, अलि–अलि पढियो, ब्यपारहरु गरेँ ।’ बुइपाको नाम कसरी जोड्नुभयो त ? यो प्रश्नमा टाउँको कन्याउँदै भन्नुहुन्छ–‘बुइपा बसेको म लगभग ८ बर्ष भयो ।’ उहाँले वजारमा वेच्न ल्याउनुभएको नास्पाती राजेशपायलको घरदेखि केही तलतिरवाट खरिद गरिएको उहाँले सुनाउनुभयो ।

काम गर्न धकाउनुहुन्न भन्ने मानसिकताका रुपकले बुइपावाट प्रतिगोटा एक रुपैंयाँमा खरिद गरी पिठ्युँमा बोकिल्याएको नास्पाती घटीमा प्रति गोटा ५ रुपैंयाँ र बढीमा जोडीको २५ रुपैंयाँ सम्ममा बिक्री गर्नुहुन्छ । एक दिनमा २ हजारदेखि २५ सय रुपैंयाँसम्म कमाउने उहाँको भनाई छ । नगरपालिकाले विहान ६ बजेदेखि मात्र किनवेच गर्न पाईने नियम लागु गरेको वजारमा साँढे सात वजेसम्म उहाँले दुई डोको बिक्री गरिसक्नुभएको थियो ।

उहाँले हटियामा मात्र नभई विद्यालय लगायत अन्य स्थानमा समेत गरी द्रैनिक रुपमा फलफुलको ब्यापार गर्नुहुन्छ ।
उसो त उहाँले नास्पाती मात्र नभई सुन्तला, केरा, लिची, आल्चा लगायत मौसमी फलफुल सवैको व्यापार गर्ने गर्नुभएको छ । कमाउनु भन्दा जमाउनु ठूलो हो भन्ने उहाँको भनाई छ–‘मैले कमाएको पैसाहरु वचत गर्ने गरेको छु ।’
घरवाहिर–वाहिरै संघर्ष गर्दागर्दै विवाह गर्नुभएको रुपकको पहिलो जुम्ल्याहा सन्तान १० महिनाको भएका छन् । जीवनमा आईपर्ने समस्याहरुलाई वाल्यकालदेखि नै टार्दै आएका रुपकलाई अर्को समस्या आईलाग्यो । छोरीहरु जन्मेको खुशीयाली मनाउन पाउँदा नपाउँदै दुवै जनामा रोग देखियो । एक जनामा मुटुको रोग र अर्कामा कुपोषण लगायतको समस्या आएको उहाँ सुनाउनुहुन्छ ।

छोरीहरुलाई उपचारका लागि काठमाण्डौं लैजाँदा उहाँको ६–७ लाख रुपैंयाँ खर्च भएको छ । ‘काठमाण्डौ कान्ति वाल अस्पताल, गंगालाल लगायतको अस्पताल लगियो ।’ वच्चाहरुलाई औषधीउपचारका लागि हाल जिल्ला अस्पतालमा लाने गरिएको रुपकले जनाउनुभयो ।

केही समयदेखि परिवार सहित रुपक दिक्तेलवजार वस्दै आउनुभएको छ ।

लगनशील, मेहनती र इमानदारी भई काम गरेमा जहाँ पनि सुखी भई वाँच्न सकिने उहाँको बुझाई छ । दुःख पर्दा आत्तिएर मात्र केही नहुने रुपकको ठहर छ । समस्याका थुप्रो एकातिर छन् । तर संघर्ष गर्न छाड्नुभएके छैन । धैर्यता र लगनशिलताले समाधानको वाटो देखाउने रुपकको विश्वास छ ।