रोक्का भएको जग्गालाई खोटाङ मालपोतद्धारा रोक्का नदेखिएको भनेर सिफारिस

काठमाडौं । काठमाडौं जिल्ला अदालतको आदेश बमोजिम रोक्का भएको जग्गा मालपोत कार्यालय खोटाङले रोक्का नभएको भन्दै सिफारिस गरेको छ ।

साबिकको दिक्तेल गा.वि.स वडा ६ को एकै स्थानको एकै कित्ता भएको एउटै व्यक्तिको रोक्का रहेको जग्गा मालपोत कार्यालय खोटाङले उक्त जग्गा रोक्का नभएको भन्दै नक्कली सिफारिस दिएको पाइएको हो ।

साबिकको दिक्तेल गा.वि.स वडा ६ की जग्गाधनी मुस्कान शेर्पा लिम्बुको नाममा रहेको कित्ता नम्बर १५२६ र १४२५ को जग्गा अदालतबाट पटक पटक रोक्का भएको थियो । चेक अनादर मुद्दामा परेको उक्त जग्गा रोक्का रहेको भन्दै मालपोत कार्यालय खोटाङले जिल्ला अदालत काठमाडौलाई २०७६ चैतमा पत्र पठाएको थियो ।

जग्गा लेनदेन सम्बन्धमा उब्जेको विवादपछि लिम्बुविरुद्ध खोटाङकै साबिकको दिक्तेल गाविस ६ की भेषुकुमारी श्रेष्ठले चेक अनादरको मुद्दा दायर गरेकी थिइन् । सो सम्बन्धमा जिल्ला अदालत काठमाडौले उक्त जग्गा रोक्काको आदेश दिदै मालपोत कार्यालय खोटाङलाई पत्राचार गरेको थियो ।

मालपोत कार्यालय खोटाङले जिल्ला अदालत भक्तपुरलाई मिति २०८०।१०।७ गते लेखेको पत्रमा भने उक्त जग्गा रोक्का नरहेको पाइएको लेखेको छ । मालपोत कार्यालयका नायब सुब्बा जगत बहादुर श्रेष्ठले दस्तखतमा सिफारिस गरेका छन् ।

स्रोतका अनुसार हाल दुवै कित्ता भएको जग्गा विचाराधिन अवस्थामा रहेको छ । विचाराधिन अवस्थामा रहेको कित्ता नम्बर १५२५ र १५२६ को जग्गा रोक्का नरहेको भन्दै मालपोत कार्यालय खोटाङले सिफारिस गरेको हो ।

यस विषयमा बुझ्न हाम्रोखोटाङ डटकमले मालपोत कार्यालय खोटाङका प्रमुख शाखा अधिकृत रविन मगरलाई सम्पर्क गरेको थियो । उनीसँग सम्पर्क गर्दा मगर टेलिफोन सम्पर्कमा आएनन् ।