हस्पिटलबाट नेपाल फर्कन खोजिरहेका रुसी सेनामा आबद्ध खोटाङका घाइते रविन राई

काठमाडौं । राम्रो अवसरको खोजीमा थिए पूर्वी पहाडी जिल्ला खोटाङ चिसापानीका रविन राई । उनी साथीहरुको संगतसँगै राम्रो कमाई हुने र सुखद भविष्य जिउने आशामा रुस पुगेर रुसी सेनामा भर्ना भए ।

रुसी सेनामा भर्ना भएर राम्रो कमाउने र सुखद भविष्य जिउने सपना बुनेर त्यहाँ पुगेका रविन अहिले भने हस्पिटलमा घाइते अवस्थामा छन् । रुस युक्रेन युद्धमा युक्रेन पक्षको आक्रमणबाट घाइते भएका उनी हस्पिटलमा उपचाररत् छन् ।

करिब २६ वर्षका रविन अहिले नेपाल आउन चाहे पनि रुसी सेनाले आउन नदिएका कारण रोकिएर बसेका छन् । रविनकी बहिनी सिला राईले दाई नेपाल आउन प्रयास गरेपनि आउन नदिएको भन्दै फर्काउनका लागि पहल गरिदिन नेपाल सरकारसँग आग्रह गरेकी छिन् ।

रविनकी बहिनी राई ।

‘दाई घाइते भएर अहिले हस्पिटलमा हुनुहुन्छ, नेपाल आउन प्रयास गरेपनि आउन दिएको छैन । सरकारले दाई रविन लगायत नेपाल आउन चाहनेका लागि पहल गरिदिओस् भन्न चाहन्छु’ उनले हाम्राेखाेटाङ डटकमसँग भनिन् ।

हस्पिटलमा रहेका रविनसँग परिवारको कहिलेकहीँ कुरा हुने गरेको छ । उपचारपछि फेरि युद्धमा लैजाने त्रास परिवारमा रहेको छ । सरकारले पहल गरिदिएमा उनीहरु नेपाल फर्कन सक्ने भन्दै परिवारले सरकारलाई पहल गरिदिन आग्रह गरेको छ । *सिला बहिनी हुनुपर्नेमा दिदी भएकाेमा सच्याईएकाे छ – सम्पादक