कांग्रेस सभापतिको सडक ठेक्काः ७ वर्षदेखि कालोपत्रे नगरी अलपत्र

चखेवाभञ्ज्याङ–सेखुवा सडक र ठेकेदार दिपेन्द्र शाही

खोटाङ । देश विकास गर्छु भनेर भाषणबाजी गर्दै राजनीति गर्ने नेता ठेकेदार रहेको कम्पनीले नै विगत ७ वर्षदेखि सडक कालोपत्रे नगरी अपलपत्र पारेको खुलेको छ ।
संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस डोल्पाका सभापति दिपेन्द्रबहादुर शाही हुन् । शाही आवद्ध निर्माण कम्पनी सिद्धिसाई कन्ट्रक्सन हो । सिद्धिसाईसहित भारत कन्स्ट्रक्सन/मैनाचुलीे जेभीले ठेक्का लिएको पुष्पलाल (मध्यपहाडी) राजमार्ग अन्तर्गत खोटाङको चखेवाभञ्ज्याङ–सेखुवा सडकको १० किलोमिटर खण्ड २०७२ सालदेखि अलपत्र अवस्थामा छ ।
अलपत्र परेको चखेवाभञ्ज्याङ–सेखुवा सडक खोटाङ र भोजपुरभित्र पर्ने मध्यपहाडीको कालो धब्बा झैं बन्न पुगेको छ । स्थानीय तथा सो बाटो भएर यात्रा गर्नेहरुले दिनदिनै सास्ती भोग्नु परेको छ ।

सिद्धिसाई आवद्ध कांग्रेस डोल्पा सभापति दिपेन्द्र बहादुर शाही ।

उक्त जेभी कम्पनीले २०७५ फागुन ३० गतेसम्म सम्पन्न गर्ने गरी २०७२ चैत २ गते कालेपत्रे गर्न सम्झौता गरेको थियो । तर, ७ वर्षसम्म पनि कांग्रेस जिल्ला सभापतिको निर्माण कम्पनीले नै सडक अलपत्र पार्दै आएको हो ।
राजमार्ग अन्तर्गत खोटाङ भोजपुरका अन्य सबै भागमा कालोपत्रे सम्पन्न भईसकेको छ । राजनीतिक शक्तिको आडमा शाहीले भने कालोपत्रेको काम नै नगरी नवीकरण गर्दै आएको पाइएको हो । यस पटक पनि राजनीतिक पहुँच र शक्तिको आडमा पुनः ठेक्का नविकरणको लागि प्रयास भइरहेको सरोकारवालाहरु बताउँछन् ।

३०३ जना स्थानीयद्धारा ठेक्का तोड्न भन्दै सिडिओमार्फत ज्ञापन
निर्माण कम्पनीको ढिलासुस्तीबाट आजित स्थानीय नागरिकले ठेक्का तोड्न माग गर्दै जिल्ला प्रशासन कार्यालयमार्फत आयोजनालाई ज्ञापन पत्र बुझाएका छन् ।
कालोपत्रेको काम अलपत्र पारेको भन्दै साकेला गाउँपालिका–१ बाँझे च्यानडाँडाका स्थानीयले आइतबार प्रमुख जिल्ला अधिकारी सुर्यप्रसाद सेडाईमार्फत पुष्पलाल (मध्यपहाडी) राजमार्ग योजनाको कार्यालय, धुलीखेल, काभ्रेलाई ३०३ जनाको हस्ताक्षरसहितको ज्ञापन पत्र पठाइएको हो । ज्ञापनपत्रमा ठेक्का तोड्न र समयमा नै निर्माण कार्य सम्पन्न गर्न माग गरिएको छ ।
स्थानीयका तर्फबाट रघुनन्द राई, इन्द्रबहादुर रोका लगायतले बुझाएको पत्रमा उक्त निर्माण कम्पनीकै पक्षमा पुनः म्याद थप भए सडक कालोपत्रे काम फेरि पनि पहिलेको जस्तै अलपत्र हुने दाबी गरिएको छ । उनीहरुले चार पटक म्याद थप हुँदा पनि कालोपत्रे काम गर्न नसकेको ठेकेदारबाट काम हुनेमा आशा नै गर्न नसकिने उल्लेख गरेका छन् ।

ठेक्का तोड्न विभागसमक्ष सिफारिस
स्थानीयबासिन्दाले ठेक्का तोड्न माग गरिरहँदा पुष्पलाल (मध्यपहाडी) राजमार्ग योजनाको कार्यालयले भने ठेक्का तोड्न सडक विभागलाई यसअघि नै सिफारिस गरिसकेको पाइएको छ ।
ठेकेदारले कालोपत्रेको काम पूरा गर्ने छाँट नदेखाएका कारण ठेक्का तोड्नका लागि गत १८ मंसिरमा सडक विभाग समक्ष सिफारिस गरिएको पुष्पलाल राजमार्ग योजनाको कार्यालय, धुलिखेलले जनाएको छ ।
सम्झौताअनुसार कालोपत्रेको प्रगति नभएपछि २२ कार्तिकमा ‘ठेक्का किन नतोड्ने श्र’ भनेर दोश्रोपल्ट सूचना निकालेको कार्यालयले सार्वजनिक खरिद सम्झौता, सार्वजनिक खरिद ऐन ०६३ तथा नियमावली ०६४ बमोजिम ठेक्का तोड्न सिफारिस गरेको हो । कालोपत्रेको काममा चरम ढिलासुस्ती भएपछि पुष्पलाल राजमार्ग योजनाको कार्यालयले १९ मंसिर ०७७ को पनि ‘ठेक्का किन नतोड्ने सम्बन्धी अत्यत्य जरुरी सूचना’ प्रकाशन गरेको थियो ।
भारत कन्स्ट्रक्सन र मैनाचुली र सिद्दिसाईले ३० फागुन ०७५ सम्ममा सम्पन्न गर्ने गरी २ चैत ०७२ मा चखेवाभञ्ज्याङ–सेखुवा खण्ड कालोपत्रेको सम्झौता गरेको थियो । तर सम्झौताअनुसार काम नगरेपछि थप भएको पहिलो म्याद १३ पुस ०७७ मा, दोश्रो म्याद १३ असार ०७८ मा र तेश्रो पटक थप भएको म्याद ३० फागुन ०७८ मै गुज्रिसकेको छ ।
भोजपुर–दिक्तेल सडक खण्ड अपग्रेडिङ गर्ने कार्यक्रमअन्तर्गत डबल लेनमा चौडा गर्ने, पुल पुलेसा, स्ट्रक्चर निर्माण गर्ने तथा सब–बेस, बेससहित डिबिएसटी सर्फेस सतहसहित सडक स्तरोन्नति गर्ने गरी भारत कन्स्ट्रक्सन/मैनाचुली/सिद्दिसाईले चेनेज ठेक्का लिएको थियो ।
चखेवाभञ्ज्याङ–सेखुवा सडक कालोपत्रेको काम सकिएपछि भोजपुरदेखि खोटाङ हुँदै काठमाडौं आवत–जावत गर्न स्थायीरुपमा छोटो र सहज बाटो खुल्ने छ । मध्यपहाडीको भोजपुर भित्र पर्ने सबै खण्ड तथा खोटाङभित्र पर्ने अन्य सडक खण्ड कालोपत्रे भइसक्दा चखेवाभञ्ज्याङदेखि सेखुवासम्मको सडक हालसम्म कालोपत्रे हुन सकेको छैन ।
नविकरणका लागि फेरि सक्रियता
योजनाको कार्यालयले ठेक्का तोड्न सिफारिस गरेपछि सोही ठेक्का हात पार्न निर्माण कम्पनीले भने फेरि सक्रियता देखाएको पाइएको छ ।
राजनीतिक शक्तिदेखि स्थानीय तहलाई समेत प्रभाव पार्ने काममा निर्माण कम्पनी लागेको पाइएको हो । स्थानीयले ज्ञापनपत्र बुझाएसँगै साकेला गाउँपालिका प्रमुख रवि प्रकाश राईले सोही निर्माण कम्पनीबाटै काम गराउँदा छिटो हुने भन्दै सक्रियता समेत देखाएको खुलेको छ । कांग्रेसका अन्य नेताहरुले पनि यसमा चासो देखाएको पाइएको छ ।
त्यसो त ९ वर्षसम्म सम्पर्कमा नरहेको निर्माण कम्पनीको ठेक्का हात पार्नकै लागि अहिले भने सडक निर्माण स्थलमा उपस्थिति देखिन थालेको छ । केही कामदारलाई सडक निर्माणका लागि खटाएको र ठेक्का हात पारेपछि पुनः पहिले जस्तै सम्पर्क बिहिन हुने भन्दै स्थानीयहरु भने सशक्तित छन् ।