काठमाडौं । पुष्पलाल (मध्यपहाडी) राजमार्ग अन्तर्गत खोटाङको सेखुवा–चखेवा सडकखण्ड अलपत्र पार्ने निर्माण कम्पनी फेरि सरकारको कालोसूचीमा परेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिीपरिषदको कार्यालय अन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयले एक सूचना जारी गरेर उक्त कम्पनीलाई तीन वर्षका लागि कालोसूचीमा राखेको हो ।

पुष्पालाल मध्यपहाडी राजमार्ग योजना कार्यालय फिदिम, पाँचथरको सिफारिसमा प्रधानमन्त्री अन्तर्गतको कार्यालयले उक्त निर्माण निर्माण कम्पनीलाई कालोसूचीमा राखेको हो । योजना कार्यालयकै सिफारिसमा तीन वर्षका लागि कालोसूचीमा राखिएकोमा अर्को सडकखण्ड पनि अलपत्र पारेपछि दुई वर्षका लागि पनि कालोसूचीमा राखिएको छ ।

कालो सूचीमा राखिएका निर्माण व्यवसायी र आपूर्तिकर्ताहरुमा भारत कन्स्ट्रक्सनका मुख्य व्यक्ति राजिव गुर्गा, मैनाचुली निर्माण सेवा प्रा.लिका मुख्य व्यक्ति मदन कुमार अधिकारी, सिद्धि साई प्रकाश कन्स्ट्रक्सन प्रा.लिका मुख्य व्यक्ति दिपेन्द्र बहादुर शाही रहेका छन् । शाही नेपाली कांग्रेस डोल्पाको सभापति समेत हुन् ।

पाँचथरको विभिन्न सडकखण्ड अलपत्र पारेर काम नगरेपछि कालोसूचीमा सिफारिस गरिएको थियो । भारत कन्स्ट्रक्सन, मैनाचुली र सिद्धिसाईले नै खोटाङको सेखुवा चखेवा सडकखण्ड निर्माणको ठेक्का लिएकोमा वर्षौसम्म पनि निर्माण नगरी अलपत्र पार्दै आएको छ ।

सार्वजनिक खरिद अनुगमन कार्यालयले उक्त सडकखण्ड अलपत्र पारेपछि कालोसूचीमा राखेर ठेक्का तोडेको थियो । तर, अदालतले कार्यालयको निर्देशन खारेज गरेपछि पुनः उक्त निर्माण कम्पनीले नै उक्त सडकखण्ड निर्माण गर्नुपर्ने भएपनि काम अघि बढ्न सकेको छैन । लामो समयसम्म निर्माण कम्पनीले काम सम्पन्न नगरेपछि स्थानीयहरु भने निर्माण कम्पनीसँग आक्रोशित बन्दै आएका छन् । यसअघि प्रमुख जिल्ला अधिकारी (सिडिओ) लाई ज्ञापन पत्र समेत बुझाएका थिए ।