काठमाडौं । स्वतन्त्र पार्टीबाट निर्वाचित सांसद तोसिमा कार्की विभिन्न घटनाका मृत्यु भएका पीडितको भावनामाथि खेलिरहेकी छिन् ।

ललितपुरकाे बालकुमारीमा हिजो भएको आन्दोलनका क्रममा गोली लागेर मृत्यु भएको विषयलाई जनयुद्धमा मारिएका व्यक्तिहरुको समेत भावनामा ठेस पुग्ने गरी उनले गतिविधि गरिरहेकी हुन् ।

इपिएसको परीक्षा सम्बन्धी विषयमा हिजो बालकुमारीमा आन्दोलनका क्रममा दुई जनाको मृत्यु भएको थियो । त्यसमा सत्यतथ्य छानबिन, दोषीमाथि कारबाही र पीडितलाई न्योयोचित क्षतिपूर्ति दिलाउन भूमिका खेल्नुपर्नेमा उनले भने जनयुद्धमा राज्य र गैरराज्य पक्षबाट मारिएका भनिएका सत्र हजारको भावनामा समेत आघात पुग्ने गरी गतिविधि गरेकी हुन् ।

सांसद कार्कीले ‘प्रधानमन्त्री ज्यू सत्र हजार प्लस दुई भयो त, अझै कति’ भन्दै प्ले कार्ड बोकेर उभिएकी छिन् । सांसद जस्तो गरिमामय पदमा निर्वाचित व्यक्तिले जिम्मेवारी निर्वाह गर्नुको सट्टा उल्टै पीडितको भावनामाथि खेलवाड गर्ने काम गरिरहेकी हुन् ।

उनी आवद्ध स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सञ्चालक भएको ग्यालेक्सी टिभीमा सहकारीबाट करोडौं लिएर डुबाएपछि अहिले पीडितको बिचल्ली समेत भएको छ । यस विषयमा अहिलेसम्म आवाज ननिकाल्ने कार्की जनयुद्धकालिन मुद्दालाई भने उचाल्दै हिडेकी छिन् । उनको यस्तो गतिविधिले पीडितले न्याय पाउनु भन्दा पनि पुरानो घटना सम्झाउने काम मात्र गर्दै आएको छ ।

शान्ति सम्झौतामा नै जनयुद्धकालिन घटनाको विषय सत्यनिरुपण आयोगबाट टुंगो लगाइने छ भने यस सम्बन्धी दुई आयोगले काम गर्दै आएका छन् । उक्त आयोगबाट युद्धकालिन घटनालाई चाँडो निष्कर्षमा पुर्याउन सांसदको पनि उत्तिकै भूमिका रहने भएपनि उनी भने राजनीतिक स्टन्डबाजीमा लाग्दै आएकी छिन् । कार्कीको सामाजिक सञ्जालमा चर्को आलोचना समेत भइरहेको छ ।