खोटाङ, ५ असार । फेरीको डोरी चुँडिएपछि खोटाङ र ओखलढुङ्गाको जयरामघाटबाट बगेको ट्रकलाई नदीबाट निकालिएको छ ।

दूधकोसी नदीले बगाएर दुई किलोमिटर तल ओखलढुङ्गाको थाक्लेमा पु¥याएको ट्रक र त्यसमा राखिएका सबै सामानहरू सुरक्षितसाथ आज निकालिएको हो ।

घुर्मीस्थित सशस्त्र प्रहरी, प्रहरीचौकी च्यास्मीटारका  प्रहरी र स्थानीयवासीले स्क्याभेटरको प्रयोग गरी नदीबाट ट्रक र सामान सुरक्षितसाथ बाहिर निकालेका हुन् ।

डोरी चुँडिएर नदीले बगाए पनि सामानले भरिएको सो ट्रक फेरीमाथि सुरक्षितसाथ अडिएको थियो । जयराम–हर्कपुर सडकखण्ड नजिक पर्ने थाक्लेमा अल्झिएको फेरीसम्म स्क्याभेटरले बाटो बनाएर ट्रक र सामान सुरक्षितसाथ बाहिर निकालिएको प्रहरीले जनाएको छ ।

फेरीको डोरी चुँडिएपछि सोमबार बिहान नदीले फेरी र ट्रक बगाएको थियो । जयराममा सञ्चालित फेरी बगेपछि दिक्तेल–हर्कपुर सिधा यातायात सेवा अवरुद्ध भएको छ ।