खोटाङ, ६ असार – च्यास्मीटार गाविसका सर्वसाधारणले कार्यालयमा उपस्थित नहुने गाविस सचिवलाई कारबाही गर्न माग गरेका छन् ।

गाविस सचिव चन्द्रप्रसाद आचार्य कार्यालयमा नियमित उपस्थित नभएपछि आफूहरु मारमा परेको भन्दै सर्वसाधारणले कारबाहीको माग गरेका हुन् ।

 नियमित कार्यालयमा नआउने सचिव आचार्यका कारण आर्थिक वर्ष २०६८÷६९ को बजेट अहिलेसम्म निकासा नभएको भन्दै एक प्रतिनिधिमण्डल मङ्गलबार जिल्ला विकास समितिमा गएको थियो ।

हालसम्म गाविसका वृद्धवृद्धा तथा बिधुवाले भत्ता नपाएको, नागरिकता, राहदानी, जग्गासम्बन्धी सिफारिस तथा जन्म, मृत्यु र बसाइँसराइ दर्तालगायतका कामका लागि समस्या भएको भन्दै डेलिगेसन आएको एमाले क्षेत्रीय अध्यक्ष सुरेन्द्रकुमार राईले जानकारी दिनुभयो ।

आफ्नो काम गर्नका लागि सचिव आचार्यलाई सदरमुकाम दिक्तेलमा आएर दुई/तीन दिनसम्म खोज्दै हिँड्नुपर्ने बाध्यता रहेको प्रतिनिधिमण्डलको गुनासो छ ।

सो टोलीले आर्थिक वर्ष २०६६/६७ र ०६७/६८ को गाविसको बजेटको सार्वजनिक लेखापरीक्षण गर्न पनि जिल्ला विकास समितिसमक्ष माग गरेको छ ।

गत माघमा गरिएको गाउँ परिषद् र वैशाखमा भएको फोटोसहितको मतदाता नामावली सङ्कलनका बेला देखापरेका सचिव आचार्य त्यसयता नदेखिएका प्रतिनिधिमण्डलमा सहभागी एकीकृत नेकपा माओवादीका चङ्खबहादुर राईले बताउनुभयो ।

    सो टोलीले जिल्लास्थित सम्पूर्ण राजनितीक दल, जिल्ला प्रशासन कार्यालय र नेपाल पत्रकार महासङ्घलाई समस्या समाधानका लागि आग्रह गरेको छ ।