खोटाङ, १२ असार । द्वन्द्वका समयमा ज्यान गुमाएका खोटाङका दुई मृतकका परिवारका लागि लामो समयपछि राहत आएको छ ।

सशस्त्र द्वन्द्वका समयमा ज्यान गुमाएका बराहपोखरी–९ का हरिप्रसाद खड्का र डम्बर्खुशिवालय–७ का लालबहादुर तामाङको परिवारका लागि शान्ति तथा पुनःनिर्माण मन्त्रालयबाट प्रतिपरिवार एक–एक लाख रुपैयाँका दरले राहत आएको स्थानीय शान्ति समितिले जनाएको छ ।

मन्त्रालयबाट मृतक खड्काको आफन्त गडुलध्वज खड्का र तामाङकी श्रीमती जमुना तामाङको नाममा एक–एक लाख राहत आएको शान्ति समितिका संयोजक सनबहादुर राईले जानकारी दिएको राष्ट्रिय समाचार समितिमा उल्लेख छ ।

यस्तै, माओवादी सेनाका घाइते चिसापानी–९ का डिल्लीराम राई र खार्पा–४ की अमृता तामाङ तथा अङ्गभङ्ग भएका दुबेकोल–७ का दधिराम रेग्मी र दोर्पाचिउरीडाँडा–६ का हस्तबहादुर श्रेष्ठका लागि पनि राहत आएको समितिका सदस्य भीमाकुमारी भुजेलले जानकारी दिएका छन् ।