खोटाङ – पहिचान नभएको रोग लागेपछि खोटाङको डुम्रेधारापानी–५ मा पाक्न लागेको धान डढेर नष्ट भएको छ ।

आठ हजार २६४ हेक्टर क्षेत्रफलमा लगाइएको साउने धान रोग लागेर नष्ट भएपछि किसानहरु चिन्तित बनेका छन् ।

 हजारौँ मेट्रिकटन धान उत्पादन हुने स्थानबाट एक गेडो चामल पनि उत्पादन नहुने भएपछि कटहरे निवासी किसानहरु अहिले निरासामा छन् । स्थानीय भवकृष्ण पाण्डेले दिनुभएको जानकारी अनुसार रोग लागेर डढेको धान जिल्ला कृषि विकास कार्यालयमा परीक्षणका लागि दिइए पनि कुनै चासो दिइएको छैन ।

कृषिले बेवास्ता गरिदिएकाले रोगलाई नियन्त्रण गर्न नसकिएको कृषक पाण्डेले बताउनुभयो । डुम्रेधारापानीका स्थानीय भवकृष्ण पाण्डे, पूण्यप्रसाद पाण्डे, हिराबहादुर निरौला, देवीप्रसाद पाण्डे, छविलाल पाण्डेलगायतले लगाएको धानबाली रोगबाट नष्ट भएको हो ।

रावाखोलाबाट सिञ्चित कटहरेको खेत यतिबेला उजाड बन्दै गएको छ । कृषि कार्यालयको बेवास्ताले समयमै रोग नियन्त्रण हुन नसक्दा धानबाली सखाप बनेको हो । प्रतिरोपनी पाँच मुरी उत्पादन हुने खेतबाट यो वर्ष उत्पादन नहुने भएपछि किसानलाई समस्या पर्ने देखिएको छ ।