साउन १४ – पवित्र तीर्थस्थल खोटाङको हलेसीमा बोलबम मेलाको अवसरमा हजारौँ तीर्थयात्रीको भीड लागेको छ । पूर्वको पशुपतिनाथ भनेर चिनिने हलेसीमा यस वर्षको दोस्रो बोलबम मेला भर्न नेपालका विभिन्न जिल्ला तथा भारत, भुटान, चीनलगायतका देशबाट समेत गेरुवस्त्रधारण गरी भक्तजन आएका छन् । यस वर्ष साउन महिनामा पाँचवटा सोमबार परेकाले बोलबमको विशेष महत्वसँगै यहाँ भक्तजनको घुइँचो लाग्ने गरेको स्थानीयवासीको भनाई छ । साउनको पहिलो सोमबारदेखि नै भक्तजनहरू हलेसीमा आएर निराहार व्रत बसी पूजाआरधाना गरेर बेलपत्र तथा गङ्गाजल शिवमन्दिरमा चढाउने गर्दै आएका छन् । यस्तै, खोटाङको बाराहापोखरी, मझुवालगायतका स्थानमा पनि बोलबम जाने प्रचलन रहेको छ ।