साउन १५ – नदीमा आएको बाढीले खोटाङ र ओखलढुङ्गाको जयरामघाटस्थित दूधकोसी नदीमा सञ्चालित फेरी बगाएको छ ।

डोरी चुँडिएपछि बगेर ओखलढुङ्गाको थाक्लेमा पुगेको फेरीलाई दूधकोसीमा आएको बाढीले दोस्रोपल्ट बगाएको हो ।

पहिलोपल्ट गत असार ४ गते डोरी चुँडिएपछि जयरामबाट दुई किलोमिटर तल पर्ने थाक्लेमा अड्किएको फेरी पुनः दूधकोसीमा आएको बाढीले बगाएर खोटाङको डिकुवा–१ र उदयपुरको रुपाटारस्थित सुनकोसी नदीको बीच भागमा पु¥याएको छ ।

दोस्रोपल्ट बगेको फेरी अहिले सुनकोसीको बीचमा रहेको बलौटे ढिस्कामा अड्किएको जिल्ला प्रहरी कार्यालयका प्रहरीनायब उपरीक्षक वसन्तकुमार थापाले बताउनुभयो । बाढीले तेस्रो पटक पनि बगाउने अवस्थामा रहेको फेरी नदीबाट बाहिर निकाल्न सकिने सम्भावना अत्यन्त न्यून रहेको प्रहरीले जनाएको छ ।

जयरामस्थित दूधकोसी नदीमा सञ्चालित फेरी बगेपछि दुई महिनाअघिदेखि दिक्तेल–हर्कपुर सिधा यातायात सेवा अवरुद्ध छ । डोरी चुँडिएर नदी वारपार गर्ने फेरी बगेपछि दिक्तेलदेखि ओखलढुङ्गाको हर्कपुर सडकखण्डमा सञ्चालन हुँदै आएको यात्रु तथा मालवाहक सवारीसाधन जयरामबाट वारपार गर्न सकेका छैनन् । फेरी बगेपछि खोटाङमा दैनिक उपभोग्य वस्तुको ओसारपसार गर्न समस्या भएको र मूल्य बढेको व्यवसायीको भनाइ छ ।

गत असारमा फेरीको डोरी चुँडिदा जयरामबाट नदीले ट्रक र फेरी बगाएको थियो । थाक्लेमा अड्किएको फेरी माथिको ट्रक निकालिए पनि फेरी ननिकालिएका कारण बाढीले बगाएको हो ।