खोटाङ, २१ साउन । खोटाङमा उत्पादन भएका तरकारीका बीउ जिल्ला बाहिर जान थालेको छ ।

जिल्लाका दिक्तेल, नेर्पा र बाम्राङलगायतका किसानले उत्पादन गरेको विभित्र थरिका तरकारीका बीउ राजधानी जान थालेको हो । स्विस सरकार विकास सहयोग नियोगको सहयोगमा तरकारी बीउ उत्पादन आयोजना (सिप्रेड) द्वारा परिचालित किसानले उत्पादन गरेको सिमी र मुलाको बीउ पहिलोपटक राजधानीका तीनवटा बीउ कम्पनीले खरिद गरेका छन् ।

आव २०६८/०६९ मा मात्र सिमीका १०२ केजी र मुलाका ६० केजी बीउ राजधानी बिक्री गरिएको सिप्रेड खोटाङका वरिष्ठ सुपरभाइजर मोतीमान लिम्बूले बताए ।

राजधानीका इस्टवेस्ट कम्पनी, स्याङ सिड सर्भिस सेन्टर र चौधरी ग्रुप (सिजी) कम्पनीलाई खोटाङमा उत्पादन भएको सिमीका बीउ प्रतिकेजी रु १२५ र मुलाको बीउ प्रतिकेजी रु २२५ का दरले बिक्री गरिएको हो । जिल्लाका एग्रोभेट, बीउ कम्पनी, जिल्ला कृषि विकास कार्यालय र सङ्घसंस्थालाई बिक्री गरेर बाँकी रहेको बीउ राजधानीमा पठाइएको गरिएको सिप्रेडले जनाएको छ ।

सिप्रेडमार्फत दिक्तेल, नेर्पा र बाम्राङका किसानले यसपल्ट पनि १० थरिका तरकारीका ३०० केजी बीउ उत्पादन गरेका छन् । सिप्रेडको भिएसपी परियोजनाअन्तर्गत किसानले सिमी, मुला, केराउ, काउली, ब्रो–काउली, सलगम, काँक्रो, रायो, गाजर, चम्सुर र प्याजको ३०० केजी बीउ उत्पादन गरिएको हो ।

तीन गाविसका किसानले उत्पादन गरेको तरकारीका बीउ दिक्तेल–६ स्थित रूपाकोट कृषक जनजागरण तरकारी बीउ उत्पादक सहकारी संस्थाले जम्मा गर्दै आएको छ । सिप्रेडको प्रविधि तथा मूल बीउबाट उत्पादन गरिने तरकारीका बीउको बजार व्यवस्थापन पनि स्वयम् सिप्रेडले नै गर्दै आएको लिम्बूले जानकारी दिए ।
   
तरकारीका बीउ उत्पादनमा दिक्तेलका सात, नेर्पाका तीन र बाम्राङका तीन कृषक समूह संलग्न छन् । हाल जिल्लाका दिक्तेल, बाम्राङ, नुनथला, बुइपा, राजापानी, बिजयखर्क, लिच्कीराम्चे, बतासे र नेर्पाका किसानले तरकारीका बीउ उत्पादन गरिरहेका छन् ।