खोटाङ, ३ भदौ । नेकपा (एमाले)का उपाध्यक्ष अशोक राईले पार्टी छाडेर नयाँ पार्टी खोल्ने चर्चा चलिरहेका बेला उनको गृहजिल्ला खोटाङमा भने एमाले जिल्ला कमिटी पार्टी फुटको विरुद्ध उभिएको छ ।
असन्तुष्ट पक्षको एजेन्डालाई पार्टीभित्रै छलफल गरेर निकास निकाल्नुपर्ने आवश्यकता औँल्याउँदै एमाले जिल्ला कमिटी पार्टी फुटका विरुद्धमा उभिएको हो ।

जिल्ला कमिटीको विस्तारित बैठकले पार्टी एकतामा जोड दिँदै पार्टी फुटका विरुद्ध उभिने निर्णय गरेको एमाले जिल्ला कमिटीका उपाध्यक्ष बबी चाम्लिङले बताउनुभयो ।

पार्टीलाई फुटबाट जोगाउन जिल्लास्थित खनाल, ओली र नेपाल पक्षधर नेताहरू एकमत देखिएका एमालेले जनाएको छ । यदि पार्टीमा फुट आए पनि खोटाङमा भने पार्टीबाहिर कोही नजाने उपाध्यक्ष चाम्लिङले दाबी गर्नुभयोे ।

जिल्लास्थित उपाध्यक्ष राई निकटका नेता तथा कार्यकर्ताहरू पनि पार्टी फुटका पक्षमा देखिएका छैनन् । बरु असन्तुष्ट पक्षले आफ्नो भावना पार्टीमै राख्नुपर्ने र उनीहरूको भावना नेतृत्वले सुन्नुपर्नेमा जिल्ला कमिटीले जोड दिएको छ ।

एमाले खोटाङले महाकाली सन्धिलाई राष्ट्रघाती सन्धि भन्दै पार्टी विभाजनको मुख्य भूमिका खेलेको स्मरण गर्दै जिल्ला कमिटीले अब पार्टीलाई फुटबाट जोगाउने अभियानमा लागेको जनाएको छ ।

उतीबेला एमाले जिल्ला कमिटीले महाकाली सन्धि राष्ट्रघाती भएको ठहर गर्दै त्यसको विरुद्धमा ७५ वटै जिल्लामा पत्राचार गरेको थियो । पत्राचारपछि केन्द्रीय कमिटीले जिल्ला कमिटीलाई भङ्ग गर्दै नेता तथा कार्यकर्तालाई ६ महिना निलम्बन गरेको थियो । रासस