खोटाङ, ४ भदौ । खोटाङमा एमाओवादीले अवकाश प्राप्त माओवादीका पूर्व लडाकुलाई युवा परिचालनको जिम्मेवारी दिएको छ ।
सम्मानजनक समायोजन नभएको भन्दै घर फर्किएका जनमुक्ति सेनाका पूर्व लडाकुहरुलाई एमाओवादीले युवा परिचालन समितिको जिम्मेवारी दिएको हो ।

एमाओवादीले आफ्नो निर्देशनमा परिचालन हुने गरी २ नम्बर ब्रिगेड कमान्डर निर्मलको नेतृत्वमा युवा परिचालन समिति गठन गरी जिम्मेवारी दिइएको एमाओवादीको राष्ट्रिय महाअधिवेशन आयोजक समिति सदस्य समिता कार्कीले बताउनुभयो ।

पूर्व लडाकु र वाइसिएललाई मिलाएर बनाइएको युवा परिचालन समितिले जिल्लामा युवालाई परिचालन गर्ने, पार्टीको विचार र शक्तिकारुपमा काम गर्ने, उत्पादनमुखी र विकास निर्माणका काममा सहयोग गर्ने, विकृति र अराजक क्रियाकलाप नियन्त्रण गर्ने उहाँले जानकारी दिनुभयो ।

माओवादीले आगामी कात्तिकमा हुने जिल्ला सम्मेलन आयोजक समितिमा समेत ५१ जना पूर्व लडाकुलाई समावेश गरेको छ ।