खोटाङ (रासस) – पूर्वको पशुपति भनेर चिनिने खोटाङको पर्यटकीयस्थल हलेसीका बारेमा अब वेबसाइटबाट जानकारी लिन सकिने भएको छ ।

वेबसाइट ‘हलेसी डट जिओभी डट एनपी’मा महादेवस्थान क्षेत्रमा भएका धार्मिक तथा पर्यटकीयस्थलहरूको तस्बिर, यससम्बन्धी जानकारी, यातायात, आवासलगायतका बारेमा जानकारी राखिने महादेवस्थान विकास समितिका कार्यकारी निर्देशक तामन राईले बताउनुभयो ।

महादेवस्थान विकास समितिले सञ्चालनमा ल्याउन लागेको सो वेबसाइटमा महादेव गुफा, बसाहा गुफा, भैरव गुफा, गुर्दुम गुफा, दुङ्देलो गुफा, शिव, पार्वती र गणेशस्थान, मारातिका गुम्बा, धर्मद्वार, पापद्वारलगायतका आकर्षक ठाउँका तस्विर र सूचना राखिनेछन् ।

यस्तै, पुरानो हलेसी मानिने बोटोचुङ, तुवाचुङ, लाहाचुङलगायतका हलेसी आसपासका पर्यटकीयस्थल पनि वेबसाइटमा समेटिने राईले जानकारी दिनुभयो । वेबसाइटमा
हलेसीबाट दक्षिणतर्फ रहेको कालिका देविस्थान, पश्चिमतर्फको ककनी र पञ्चकन्या, उत्तरतर्फको गैरीगुठ कालिकादेवी र पूर्वतर्फको जगदम्बा देविस्थानका बारेमा जानकारी दिने तस्बिर तथा सूचनासमेटिने हलेसी विकास समितिले जनाएको छ ।