खोटाङ, ३० असोज । प्लान नेपाल खोटाङको कार्यालयमा लगाइएको अनिश्चितकालीन तालाबन्दी खुलाउने सहमति भएको छ ।

कार्यक्रम सञ्चालन गर्ने स्थानीय साझेदार संस्था छनोटमा असन्तुष्ट जनाउँदै नेपाल विद्यार्थी सङ्घ र नेपाल तरुण दलले प्लान नेपालको दिक्तेलस्थित कार्यालयमा लगाएको अनिश्चितकालीन तालाबन्दी ३५ दिनपछि खुलाउने सहमति भएको प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले जानकारी दिनुभयो । स्थानीय विकास अधिकारी युवराज अधिकारीको अध्यक्षतामा सोमबार साँझ बसेको बैठकमा सो सहमति भएको हो ।
प्लान नेपालले आफ्नो कार्यक्रम सञ्चालन गर्ने स्थानीय साझेदार संस्था पारदर्शी र निष्पक्ष ढङ्गले छनोट नगरेको भन्दै नेवि सङ्घ र तरुण दलले गत भदौ २५ गते कार्यालयमा अनिश्चितकालीन तालाबन्दी गरेका थिए ।

ताला खुलाउने सहमति भएसँगै जिल्लामा प्लान नेपालको कार्यक्रम निर्बाधरुपमा अघि बढ्ने अपेक्षा गरिएको बैठकमा सहभागीले बताएका छन् । नेपाल विद्यार्थी सङ्घ र तरुण दलको अवरोधका कारण जिल्लामा भदौ पहिलो सातादेखि सञ्चालन हुने भनिएको प्लान नेपालको रु ५० करोडको ‘महिला सशक्तीकरण’ कार्यक्रम अहिलेसम्म सञ्चालन हुन सकेको छैन । रासस