खोटाङ, १० मङ्सिर । हृदयघातका कारण कतारमा ज्यान गुमाएका खोटाङका कबिन राईको परिवारलाई खोटाङ सेवा समाज नेपाल दोहा कतारले आर्थिक सहयोग गरेको छ ।

हृदयघातका कारण सुतिरहेको अवस्थामा पाँच महिनाअघि कतारमै ज्यान गुमाएका बतासे–३ का राई परिवारलाई समाजले रु १ लाख ५५ हजार आर्थिक सहयोग गरेको हो ।

खोटाङ सेवा समाजले चन्दा उठाएर मृतक राईकी श्रीमती रोजिना राईको नाममा रु ७५ हजार र कान्छी छोरी कीर्ति राईको नाममा रु ८० हजार रकम पठाएको छ ।

कतारबाट पठाइएको सहयोग रकम समाजका काठमाडौँ सल्लाहकार विनादेवी राईले मृतक राईको परिवारलाई हस्तान्तरण गरिएको खोटाङ सेवा समाज कतारका महासचिव नारायण बस्नेतले जानकारी दिनुभयो ।

जेठी छोरी प्रिती राईलाई पनि कक्षा १० सम्म अध्ययन गर्नका लागि महानगर सहकारी संस्थाले रु २ लाख सहयोग गर्न लागेको संस्थाका अध्यक्ष निर्वाचन राईले जानकारी दिनुभयो ।

निम्न आर्थिकस्तर भएका राईको निधनसँगै परिवारको बिचल्ली भएपछि समाजले चन्दा सङ्कलन गरेर राई परिवारलाई आर्थिक सहयोग गरेको समाजका अध्यक्ष किसनचन्द्र राईले बताउनुभयो ।

रोजगारीका सिलसिलामा कतारमा पुगेर विभिन्न समस्यामा परेका खोटाङवासी तथा गैर–खोटाङवासीलाई समाजले सहयोग गर्दै आएको राससमा उल्लेख छ ।