२५ – पुस,  आगलागीमा परी खोटाङको खार्मीमा दुई घर जलेर नष्ट भएका छन् । आगलागीबाट खार्मी-४ का ओमबहादुर दाहालको तीन तले र मनबहादुर दाहालको एकतले घर जलेर नष्ट भएका हुन् ।

ओमबहादुरको गुवाली (गोठ)बाट सल्किएको आगोले ती घर जलेको स्थानीय दुर्गाकुमारी दाहालले जानकारी दिनुभयो । आगलागीमा दाहाल परिवारको अन्न, सुनचाँदी, भाँडाकुँडा, लत्ताकपडा, काठपातलगायतका सामान जल्दा ८ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको प्रहरी नायब उपरीक्षक राजीव बस्नेतले बताउनुभयो ।
आगलागीमा ओमबहादुर र उहाँकी श्रीमती दुर्गा दाहाल घाइते हुनुभएको छ । गम्भीर घाइते बन्नुभएकी दुर्गालाई जिल्ला अस्पताल दिक्तेल लैजाने तयारी भइरहेको छ ।
आगलागीको कारण खुल्न सकेको छैन । आगलागीबाट घर तथा घरमा भएका सबैसामान जलेपछि ओमबहादुरको परिवार जलेको घरको भुइँतलामा र मनबहादुरको परिवार चित्राले बारेको छाप्रोमा बसिरहेका छन् ।