पुस २९ – खोटाङ र ओखलढुंगाको सिमामा रहेको दुधकोशीस्थित रँभुवाघाटबाट अबैध बालुवा निकासी गरिएको बिरोधमा ट्याक्टर व्यवसायी संघले खोटाङमा यातायात सेवा बन्द गरेको छ । 
लामीडाँडाका स्थानीय व्याक्तीहरुको एक समुहले दुधकोशी किनारबाट आफुखुसी बालुवा निकासी गरेको बिरोधमा ट्याक्टर व्यवसायीले आईतबार जिल्लामा सञ्चालित यातायात सेवा बन्द गरेका हुन् । ट्याक्टर व्यवसायी संघले विहानैदेखि दिक्तेल–जयरामघाट सडक अन्तरगत सदरमुकामको रत्नपार्कमा ट्याक्टर तेर्साएर यातायात सेवा ठप्प बनाएका छन् । ट्याक्टर व्यावसायी संघको यातायात बन्दका कारण सदरमुकाम दिक्तेलबाट अन्यत्र जाने यात्रुहरु मारमा परेका छन् ।
कोशीको वालुवा ल्याउनेक्रममा बर्षाैदेखि स्थानीय फटिककुमार श्रेष्ठको अगुवाईमा प्रतिट्याक्टर दुई हजारसम्म शुल्क उठाउने गरिएको बिरोधमा यातायात सेवा बन्द गरिएको ट्याक्टर व्यावसायी संघ खोटाङका अध्यक्ष बिष्णुकुमार श्रेष्ठ ‘स्याण्डे’ले बताउनु भयो । आफुहरुबाट अवैध शुल्क लिइएको बिरोध गर्दा उल्टै लामिडाडाँका एक समुहले शनिवार साँझ ट्याक्टर आवत–जावतमा रोकेकाले बन्द आह्वान गरिएको अध्यक्ष स्याण्डेको भनाई छ । सडक अवरोधपछि जिल्लामा कुनै पनि सवारी साधन सञ्चालन हुन नसकेको यातायात व्यावसायी संघका अध्यक्ष विदुर लुइटेलले बताउनु भयो । बिगत तीन वर्ष अघिदेखि दुधकोशीको रँभुवाबाट बालुवा अबैधरुपमा निकासी भइरहेको ट्याक्टर व्यवसायीको भनाई छ ।
रँभुवाबाट स्थानीयबासीले ट्याक्टर व्यवसायीबाट गत आर्थिक बर्ष मात्रै सवा लाख रुपैयाँ शुल्क उठाएको स्थानीय बुद्ध श्रेष्ठले बताउनु भयो । सडक निर्माणमा भएको लगानी उठाउनकालागि शुल्क लिइएको श्रेष्ठको भनाई छ । बालुवा निकासीबाट उठेको आयव्याय सार्वजनिक गर्न माग गर्दै ट्याक्टर व्यवसायीले गत पुस पहिलो साता जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएका थिए ।