माघ–५, गाउँमा ग्रामिण सडक बनाउन अग्रसर भएका खोटाङको लिकुवापोखरीका स्थानीयबासीलाई आर्थिक समस्या परेको छ । खोटाङ र भोजपुरको सिमानामा रहेको पामाखामबाट गाउँ जोड्ने सडक निर्माण गर्न थालेका लिकुवापोखरीका स्थानीयबासीलाई आर्थिक समस्या परेको हो । करिब दश किलोमिटर लामो सो सडक निर्माण गर्नकालागि २५ लाख रकमको अभाव भएको पामाखाम–लिकुवापोखरी सडक निर्माण समितिका अध्यक्ष धनबहादुर महाराजीले बताउनु भयो ।

 यस वर्ष गाबिसको बजेट घटेका कारण सडक निर्माणकालागि गाउँ परिषदबाट २ लाख ६० हजारमात्र छुट्याईएको छ । स्क्याभेटरको प्रयोग गरी निर्माण गर्न थालिएको सडक भिरालो र चट्टान काट्नु पर्ने भएकाले लागत बढि लाग्ने भएको सडक निर्माण समितिको भनाई छ । गाउँमा सडक बिस्तार गर्ने सपना बोकेका स्थानीयबासीले आर्थिक अभावकाबीच पनि चन्दा उठाएर सडक निर्माण थालेका छन् । चन्दा संकलनबाट जम्मा भएको रकमबाट पामाखामदेखि अँधेरीसम्मको एक किलोमिटर बाटो निर्माण गरिसकिएको निर्माण समितिका अध्यक्ष महाराजीले बताउनु भयो । निर्माण समितिका अनुशार पामाखाम–लिकुवापोखरी सडक बनेपछि भोजपुरको यूँ गाबिससँग सिधा सडक सम्पर्क बिस्तार हुने छ । 
लिकुवापोखरी र भोजपुरको ढोड्लेखानी गाबिसको समान आर्थिक लगानीमा यूँ गाबिसदेखि पामाखामसम्मको सडक निर्माण गरिएको हो । हालसम्म भोजपुरबाट पामाखामसम्म मालबाहक ट्रक तथा ट्याक्टर आवतजावत गरिरहेका छन् । ट्रक तथा ट्याक्टरले दैनिक उपभोग्यबस्तु ओसारपसार गर्न थालेपछि लिकुवापोखरी र आसपास क्षेत्रका स्थानीयबासी लाभान्बित भएको बिणा माबिका शिक्षिका प्रमिला राईले बताउनु भयो ।