माघ–१०, प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाउँदै जिल्लास्थित खोटाङका राजनैतिक दलहरुले महुरे–फोक्सिङ्टार सडक खण्डमा काम गर्ने मजदुरहरुबाट जबरजस्ती कमिशन लिने अराजक समुहलाई कारबाही गर्न माग गरेका छन् । 

बुधबार प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाउँदै जिल्लास्थित एकीकृत नेकपा माओबादी, नेपाली कांग्रेस, राप्रपा नेपाल, राष्ट्रिय शक्ती प्रजातन्त्र पार्टी, नेकपा–माओबादी र संघीय समाजबादी पार्टीले स्वीस सरकारको सहयोगमा निर्माणाधिन महुरे–फोक्सिङ्टार सडक खण्डमा काम गर्ने कामदारहरुबाट कमिशन लिने युवाको अराजक समुहलाई कारबाही गर्न माग गरेका हुन् । 
उनीहरुले मजदुरहरुबाट कमिशन अशुल्ने समुहलाई कारबाहीको दायरामा ल्याउन र निर्वाधरुपमा सडक निर्माणका काम अघि बढ्ने वाताबरण सिर्जना गर्न जिल्ला प्रशासन कार्यालयको ध्यानाकर्षण गराएका छन् । 
एमाले बाहेकका दलका नेताहरुले प्रशासनमार्फत प्रधानमन्त्रीलाई पठाएको ज्ञापनपत्रमा ‘मजदुरहरुको श्रम शोषणका बिषयलाई नजरअन्दाज गरिए र काममा अवरोध आएमा त्यसको जिम्मेवार सरकार, सबन्धित पक्ष र प्रशासन हुनु पर्ने’ भनिएको छ । 
गत माघ–४ गते जिल्लाकै डन समुहले सडकमा काम गर्ने १२० जना मजदुरहरुबाट ७ लाख १५ हजार कमिशन अशुलेको भन्दै उनीहरुले प्रशासनलाई गम्भीर बन्न ध्यानाकर्षण गराएका छन् । उनीहरुले मजदुरहरुबाट कमिशन अशुलिएको विषय सार्वजनिक भइसकेको अवस्थामा पनि सम्बन्धित पक्ष र प्रशासन मौन बस्नु दण्डहीनताको पराकाष्ठ भनेका छन् ।
‘यस्ता संबेदनशील घट्नालाई बेवास्ता गरेर बस्नु प्रशासनको नियतमा शंका गर्नु पर्ने ठाउँको दायर बढ्दै गएको छ ।’–एकीकृत नेकपा माओबादी खोटाङका सम्मेलन आयोजक कमिटि संयोजक समिता कार्की ‘अस्मिता’, नेपाली कांग्रेसका कार्यालय सचिव राम घिमिरे, राप्रपा नेपालका अध्यक्ष जीवनकुमार श्रेष्ठ, राष्ट्रिय शक्ती प्रजातन्त्र पार्टीका सदस्य मिनुहाङ राई, नेकपा–माओबादी–८ नम्बर इलाका इन्चार्ज झमप्रसाद आचार्य र संघीय समाजबादी पार्टीका अध्यक्ष सुर्यबहादुर राईले हस्ताक्षर गर्नु भएको बिज्ञाप्तीमा भनिएको छ । 
यसैबिच नेकपा एमाले भने मजदुरबाट कमिशन अशुलिएको बिषयमा बृहत छलफल नगरिएको भन्दै छुट्टै बिरोध जनाएका छन् । एमालेले पनि महुरे–फोक्सिङ्टार सडक खण्डमा काम गर्ने श्रमिकहरुबाट रकम असुली गर्ने समूहलाई तत्काल कारबाही गर्न माग गरेको छ । एमालेले छुट्टै पत्रकार सम्मेलन गरी दिनभर मेहेनत गरेर आफ्ना बालबच्चा पाल्ने श्रमिकहरुले पाउने पारिश्रमिक अराजक समूहले असुल्नु दुःखद भएको भन्दै त्यस्ता समूहलाई तत्काल कारबाही गर्र्न माग गरेको छ । 
पत्रकार सम्मेलनमा एमालेका उपसचिव रामप्रसाद दंगालले श्रमिकहरुले पाउनुपर्ने रकम सम्बन्धित उपभोक्ता समितिमार्फत पाउने व्यवस्था मिलाइनु पर्ने, रकम उठाउने समूहको पहिचान गरी कारबाही अगाडि बढाइनु पर्ने, सम्बन्धित उपभोक्ताभन्दा अन्यबाट काम लगाउने परिपाटीको अन्त्य गर्दै सम्बन्धित गाविसका उपभोक्ताबाट मात्र काम गर्ने व्यवस्था मिलाइनुपर्ने, उपभोक्ता समितिले जिल्ला विकास समिति, डिआरएसपीको प्रतिनिधि तथा सुरक्षा निकायका प्रतिनिधिहरुको उपस्थितिमा मात्र श्रमिकलाई ज्याला बाँडफाँड गर्नु पर्ने लगायतका माग गरेका छन् । 
४९ किलोमिटर लामो महुरे–फोक्सिङटार सडक खण्डमा काम गरिरहेका मजदुरहरुले आफुहरुबाट काम गरेवापत आउने रकमको १५ प्रतिशत कमिसन मागिएको आरोप लगाएका छन् ।