माघ–१९, खोटाङको जयराम र ओखलढुंगादेखि उदयपुरको कटारीका लागि पहिलोपल्ट बस सेवा शुरु भएको छ । 
माथिल्लो सगरमाथा बस व्यवसायी संघले सोमबार बिहानदेखि जयराम र ओखलढुंगाबाट कटारीकालागि सिधा बस सेवा सञ्चालनमा ल्याएको हो । उदयपुर र ओखलढुंगाको सिमामा पर्ने हर्कपुरस्थित सुनकोशीमा बेलीब्रीज सञ्चालनमा आएपछि जयराम र ओखलढुंगाबाट बस सेवा सञ्चालनमा ल्याइएको माथिल्लो सगरमाथा बस व्यवसायी संघका अध्यक्ष रत्नप्रसाद शर्मा कटेलले बताउनु भयो । 
सिद्धीचरण राजमार्ग अन्तरगतका सो सडक खण्डमा जयराम र ओखलढुंगाबाट कटारी तथा कटारीबाट जयराम र ओखलढुंगाका लागि अलग–अलग समयमा दैनिक तीन÷तीन वटा यात्रुबाहक बस आवत जावत गर्ने संघले जनाएको छ । 
सिधा बस सेवा सञ्चालनमा आएपछि जयराम र ओखलढुंगाबाट हर्कपुर ओर्लेर पुःन घुर्मी वा घुर्मी ओर्लेर हर्कपुरबाट अर्को सवारी साधन परिवर्तन गरिरहनु पर्ने समस्यबाट यात्रुहरुले मुक्ती पाएका छन् । 
जयरामबाट कटारी आवत जावतकालागि तीन सय र कटारीबाट ओखलढुंगाकालागि पाँच सय भाडा निर्धारण गरिएको अध्यक्ष शर्माले जानकारी दिनु भयो । सुनकोशीमा बेलीब्रीज सञ्चालनमा आउनुअघि घुर्मी वा हर्कपुरबाट दोश्रो गाडी परिवर्तन गर्नु पर्ने बाध्यता थियो ।