माघ–२४, नेपाल ग्रामिण पहुँच कार्यक्रम र्यापले खोटाङका दुई हाटबजारको पुःर्नसंरचना गर्दै व्यवस्थापनमा एक लाख खर्चने भएको छ । 
ग्रामिण पहुँच कार्यक्रम र्यापले सदरमुकाम दिक्तेलको हाटडाँडाका लागि ७० लाख र पञ्चमीबजारको लागि ३० लाखको लागतमा व्यवस्थापन गरिने नेपाल ग्रामिण पहुँच कार्यक्रम र्यापका खोटाङ प्रमुख दशरथ मोक्तानले बताउनुभयो ।
जिल्लाको अर्थोपार्जन र बिनीमयको प्रमुख माध्यायम मानिएको दुबै हाटबजार अव्यवस्थित भएको भन्दै र्यापले यसको आवश्यक व्यवस्थापन र पुःर्नसंरचनाको तयारी शुरु गरेको हो । आगामी जेठसम्ममा काम सम्पन्न गर्ने ‘गुरु योजना’कासाथमा साप्ताहिकरुपमा लाग्ने हाटबजारको पुःर्नसंरचना गर्ने तयारी शुरु गरिएको मोक्तानको भनाई छ । 
नेपाल ग्रामिण पहुँच कार्यक्रम र्यापका ईन्जिीनियर सविन जोशीका अनुसार हाट लाग्ने स्थान दिक्तेल र पञ्चमीबजारमा आवश्यक पक्की छाप्रा, सडक, शौचालय, ढल निर्माण, खानेपानी, पशु बधशाला लगायतका पुर्वाधारहरु निर्माण गरिने छन् । १२ रोपनी क्षेत्रफल ओगटेको दिक्तेलको हाटडाँडालाई सम्याएर नयाँ पार्क, पक्की छाप्रा, शेड, सडक, खानेपानी, ढल, शौचालय, पशु बधशालाको उचित व्यवस्थापन गरिने ईन्जिीनियर जोशीले बताउनु भयो । 
हाटबजारको व्यवस्थापनकालागि यो आवश्यकीय पुर्वाधार निर्माण शुरु मात्र भएकाले यसलाई उपभोक्ता समितिले निरन्तरता दिइरहनु पर्ने मोक्तानको भनाई छ । ‘बजार व्यवस्थापनकालागि उपभोक्ता समितिलाई दिर्घकालिनरुपमा बाटो देखाउने काममात्र शुरु गरिएको हो ।’ मोक्तान भन्नुहुन्छ–‘यसलाई क्रमशः उपभोक्ता समिति आफैले हाटबजारको व्यवस्थापन गर्दै जानु पर्छ ।’ दिक्तेलको हाटडाँडा व्यवस्थापनकालागि सनमान खड्का र पञ्चमीबजार व्यवस्थापनकालागि नन्दराम राईको अध्यक्षतामा हाटबजार व्यवस्थापन समिति गठन गरी काम अघि बढाइएको छ । 
जिल्लाको प्रमुख व्यपारिक केन्द्रकारुपमा रहेको दिक्तेलको हाटडाँडामा प्रत्येक हप्ताको बुधबार र शनिबार तथा सछितापोखरीको पञ्चमीमा पत्येक १५ दिनमा हाट लाग्दै आएको छ ।