फागुन–५, खोटाङमा कम तौल भएका सिमेन्टका बोराहरु भित्रिइरहेको पुष्टी भएको छ । तराईबाट भित्रिने सिमेन्टका कतिपय बोराहरु एक केजी देखि सात केजीसम्म कम तौल भएका भेटिएको उपभोक्ताको दावी छ ।
विभिन्न ठूला भवन, कुलो, नहर, घर लगायतका भौतिक विकास निर्माणका लागि तराईबाट पुर्‍याइने सिमेन्टका बोराहरु ५० केजीभन्दा कम तौलका पाइएको उपभोक्ताले गुनासो गरेका छन् ।
सदरमुकाम दिक्तेलमा रहेको माउण्ट एभरेष्ट बोर्डिङ स्कुलको भवन निर्माणकालागि ल्याइएको उदयपुर सिमेन्ट उद्योगबाट उत्पादन भएको गैंडा छाप सिमेन्टको बोराको तौल नाप्नेक्रममा यस्तो खुलासा भएको हो ।
आफुकहाँ पनि कम तौलको सिमेन्टका बोरा भेटिएको गुनासो आइरहेको खोटाङ उद्योग वाणिज्य संघका अध्यक्ष खुसनारायण शैंजूले बताउनु भयो ।उहाँले एकैपटकमा दुई सय बोरा सिमेन्ट खरिद गर्ने ग्राहक मारमा नपर्ने भएपनि एक–दुई बोरा खरिद गर्ने ग्राहक बढि मारमा परिरहेको बताउनुभयो । 
उद्योग वाणिज्य संघ उदयपुरका महासचिव प्रयास कार्कीले पनि उद्योगबाट कम तौलका सिमेन्ट बजारमा आउने गरेको बताउनुभयो । गुणस्तर तथा नापतौल बिभाग क्षेत्रीय कार्यालय बिराटनगरलाई उद्योगबाट तोकिएभन्दा कम तौलका सिमेन्टका बोराहरु बजारमा आएको जानकारी गराएपछि बिभागले उद्योगलाई सच्याउन निर्देशन दिएको महासचिव कार्कीले बताउनुभयो । 
बाहिर ५० केजी लेखिएको सिमेन्टको बोरामा ५० केजी नै सिमेन्ट हुनुपर्ने वाणिज्य संघका अध्यक्ष शैंजूको भनाई छ ।
उदयपुर सिमेन्ट उद्योगका बिक्री बिभाग प्रमुख बिष्णुबहादुर खड्काले सिमेन्ट प्रति बोरा एक केजी बढि वा घटी हुने गरेको स्वीकार गर्नु भयो । तर एउटै बोराको तौल सात केजीसम्म कम भएको विषय आश्चर्य भएको भन्दै खड्काले सिमेन्टको तौललाई स्थिर बनाउन उद्योगलाई गम्भीर बनाएको बताउनुभयो । सिमेन्ट लोड अनलोडकाक्रममा चुहिएर कम तौल भएको हुन सक्ने उहाँको अनुमान छ । 
उद्योगले दुई सय बोरा सिमेन्टको तौलमा दुई सय केजी तल वा माथि परे पनि मान्यता दिँदै आएको छ ।