फागुन–६, जिल्ला विकास समिति खोटाङको अबरुद्ध योजना तर्जुमा गोष्ठी तीन दिनपछि सञ्चालनमा आएको छ । 
नेकपा एमालेले तीन सुत्रीय माग राखी अबरुद्ध पारेको गोष्ठी आइतबार जिल्ला विकास समितिमा भएको सर्वदलीय बैठकमा असहमती लेखेर बाहिरिएपछि सञ्चालनमा आएको हो । 
एमालेले स्थानीय स्वायत्त शासन नियमावली विपरित मन्त्रीको तोकआदेशमा जिल्लास्थित एकीकृत नेकपा माओवादीको नेता तथा कार्यकर्ता पोस्ने योजना फिर्ता हुनुपर्ने, कटौती भएको सामाजिक सुरक्षाभत्ता अन्तरगत वृद्धवृद्धा, अपाङ, दलित लगायतको रकम यथासिघ्र निकासा गर्नुपर्ने र कटौती भएको गाविस तथा जिविस अन्तरगतको अनुदान रकम तत्काल निकासा गर्नु पर्ने भन्दै योजना तर्जुमा अबरुद्ध गर्दै आएको थियो । 
आइतबार पत्रकार सम्मेलन गरी गाविस अनुदान रकममा सरकारले कटौती गर्नुका साथै जिविसको विकास अनुदानमा समेत ठूलो रकम कटौती गरी माओवादीका नेता तथा कार्यकर्ता पोस्ने कार्यक्रमलाई भने बढवा दिएको भन्दै त्यसको विरुद्धमा एमाले उत्रिएको नेकपा एमाले खोटाङका अध्यक्ष विशाल भट्टराईले बताउनुभयो । 
‘जिविसको विकास अनुदानमा जम्मा ४० लाख बजेट आयो तर, स्थानीय शासन नियमावली विपरित मन्त्रीको ठाडो तोकआदेशमा माओवादीका नेता तथा कार्यकर्ता पोस्ने विभिन्न योजना बनाइ एक करोड १७ लाख रूपैया“ आएको छ ।’ उहाँले भन्नुभयो–‘यस्ता खाले सबै बेथिति विरुद्ध एमाले आन्दोलनमा उत्रन्छ । 
सदरमुकाम दिक्तेलस्थित भवनगैंरामा पत्रकार गरिएको सम्मेलनमा अध्यक्ष भटराईले जिल्ला विकास समितिको मात्र नभइ जिल्लाका सबै कार्यालयको बैठकहरूमा एमालेले असहमती जनाउने बताउनुभयो । 
उता, आजबाट शुरुभएको योजना तर्जुमा गोष्ठीमा अन्य राजनीतिक दलहरुले भने सहभागीता जनाएका छन् । जिल्ला विकास समितिको नयाँ हलमा शुरु भएको गोष्ठीमा विषयगत कार्यालयहरुले आर्थिक वर्ष २०६९/०७० का लागि तयार गरेको योजनाहरु पेश गर्ने काम शुरु भएको छ ।