फागुन–१५, सडक र कृषिलाई पहिलो प्राथमिकता दिँदै खोटाङको २० औं जिल्ला परिषद आइतबार सकिएको छ । “सिर्जनशील खोटाङको चाहना, समतामूलक, आत्मर्निभर र समृद्ध समाजको स्थापना” भन्ने मुल नाराकासाथ दुई अरब भन्दा बढी अनुमानित बजेट पारित गर्दै जिल्ला परिषद सम्पन्न भएको हो । 
सदरमुकाम दिक्तेलस्थित समिक्षालय हलमा भएको परिषदमा स्थानीय विकास अधिकारी युवराज अधिकारीले सडक, कृषि, उद्योग, शिक्षा, स्वास्थ्य, वन, पर्यटन लगायतका शिर्षकमा चालुतर्फ १ अरब ५३ करोड २७ लाख ३६ हजार र पुँजीगततर्फ ६० करोड ९७ लाख ४९ हजार गरी २ अर्ब १४ करोड २४ लाख ८५ हजार रुपैयाँको नीति तथा कार्यक्रम प्रस्तुत गर्नु भएको छ । यसमा जिल्लाको गरिबी निवारणमा सहयोग पु¥याउने, रोजगारमूलक, छोटो समयमा सकिने र बढी प्रतिफल दिने, कम लगानीमा बढी जनसंख्यालाई लाभ दिने जनसहभागितामा आधारित कार्यक्रमहरु समेटिएका छन् । 
परिषदले चालु आर्थिक वर्षमा जिल्ला सडक गुरुयोजनालाई पुनरावलोकन गर्दै सडक निर्माण तथा स्तरोन्नती गर्ने, झोलुङ्गे पुल मर्मत तथा निर्माण, सुक्खाग्रस्त क्षेत्रमा आकाशे पानी संकलन, वाताबरणमैत्री प्रबिधि अपनाउँदै बसपार्क निर्माण, आय आर्जनमा बृद्धि तथा क्षमता बिकासमा सघाउ पु¥याउने कृषि तथा बिपन्न लक्षीत कार्यक्रमलाई प्राथमिकता, मौरी पालन, तरकारी तथा फलफुल खेती, कृषि तथा पशुपालनलाई व्यवसायीकरण, पर्यटन बिकास, व्यवसायीक पशुपालन, प्रांगारिक मल प्रबर्धन लगायतका ३८ बुँदे योजनाहरु सार्वजनिक गरेको छ । 
यद्यपी, वडापरिषद र ईलाका स्तरिय योजना तर्जुमा गोष्ठीमार्फत छनौट भइ आउनुपर्ने योजनाहरु नियम मिचेर झ्यालबाट योजना छिराउने क्रमले निरन्तरता पाएको आलोचनाबाट परिषद मुक्त रहेन ।