फागुन १६ – खोटाङका युवाहरुले स्थानीय सहकारी संस्थाको सदस्य बनेपछि मात्र युवा तथा साना व्यवसायी स्वरोजगार कोषको ऋण पाउने भएका छन् ।
अर्थमन्त्रालयको युवा तथा साना व्यवसायी स्वरोजगार कोष सचिवालयले स्थानीय सहकारी तथा बैंकमार्फत प्रदान गर्ने ऋण लिनकालागि सम्बन्धित क्षेत्रको सहकारीको सदस्यता लिएपछि मात्र जिल्लाका युवाहरुले स्वरोजगार कोषको रकम पाउने भएका हुन् ।
आफ्ना सदस्य बाहेककाहरुलाई ऋण लगानी गर्न नमिल्ने सहकारीको नियम अनुशार ऋण प्रबाह गर्ने जिम्मा पाएका जिल्लाका सहकारी संस्थाहरुले सदस्यता दिएपछि मात्र कोषको ऋण प्रबाह गर्ने तयारी गरेका छन् ।
सहकारीको सदस्यता नलिए उनीहरुले सहकारीकै कुनै पदाधिकारीलाई जमानीकारुपमा राखेर मात्र ऋण लिन पाउने भएका छन् । सदस्यता नलिएका युवायुवतीलाई सहकारीको नियमअनुशार सदस्यता दिएरमात्र ऋण प्रवाह गरिने दिक्तेलको सक्रिय बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष नारायणप्रसाद जोशीले बताउनुभयो ।
अथवा सहकारीका पदाधिकारी नै जमानी बसेको खण्डमा मात्र बीना सदस्यताकाहरुलाई कोषको रकम दिन सकिने अध्यक्ष जोशीले जानकारी दिनुभयो । लगानी उठाउने सुनिश्चितताकालागि शेयर अनिवार्य गरिएको सहकारी संस्थाहरुको भनाई छ ।
स्वरोजगार कोषको ऋण लिनकालागि अव युवाहरुले अनिवार्यरुपमा सहकारी संस्थाको सदस्य बन्नु पर्ने अवस्था आएको छ । सहकारीको नियम अनुशार ऋण लगानी गर्दा कोषको तालिम लिएर बसेका सबै युवायुवतीले रकम पाउने सम्भावना भने कम हुने खोटाङ उद्योग बाणिज्य संघका उपाध्यक्ष राजेन्द्र लयालुले बताउनुभयो ।
एकातर्फ सहकारीको क्षेत्रभन्दा बाहिरका व्यक्तीहरुलाई ऋण प्रबाह गर्न नमिल्ने र अर्कातर्फ जुनसुकै समयमा शेयर खुलाउन नसकिने सहकारीको नियम अनुशार स्वरोजगार कोषबाट जिल्लाका सबै लक्षित वर्ग लाभान्बित हुन्छ भन्नेमा उपाध्यक्ष लयालु आशंका गर्नुहुन्छ । बरु यो झमेलाको सट्टामा ऋण लगानी गर्नकालागि बैंकहरुलाई बढी प्रोत्साहित गर्नु उचित हुने लयालुले बताउनुभयो ।
सचिवालयले यस वर्ष दिक्तेलको सक्रिय बचत तथा ऋण सहकारी संस्था, च्यास्मीटारको हलेसी बचत तथा ऋण सहकारी संस्था, खोटाङबजारको खोटाङबजार बचत तथा ऋण सहकारी संस्था र खोटाङबजारमै रहेको राष्ट्रिय बाणिज्य बैंकको शाखा कार्यालयमार्फत ऋण प्रबाहको तयारी गरेको छ ।
अघिल्लो वर्ष जिल्लामा ज्योति विकास बैंक मार्फत ऋण प्रबाह गरिएको थियो । व्यवसायिक खेती, पशुपंक्षी पालन, कृषि तथा वनजन्य उद्योग, घरेलु तथा साना उद्योग लगायतका क्षेत्रमा युवा स्वरोजगारका लागि सरकारले जिल्लामा पाँच करोड भन्दा बढी लगानीको तयारी गरेको छ । यस वर्ष जिल्लाका एक हजार ९ सय ४४ जना युवायुवतीले युवा स्वरोजगार सम्बन्धी तालिम लिएका छन् ।
अघिल्लो वर्ष तालिम लिने एक हजार तीन सयमध्ये एक सय ६८ जनालाई ज्योति विकास बैंक मार्फत तीन करोड दश हजार नौ सय ऋण प्रबाह गरिएको थियो । ज्योती बिकास बैंकमार्फत पाएको ऋणबाट जिल्लाका कतिपय युवायुवतीले लोभलाग्दो प्रगती गरेको खोटाङ उद्योग बाणिज्य संघका अध्यक्ष खुसनारायण शैंजूले बताउनुभयो ।