फागुन–२३, सदरमुकाम भन्ने बित्तिकै सामान्यतया सबै सुबिधायुक्त हुन्छ भन्ने बुझिन्छ । तर, त्यस्तो सुविधा छैन, खोटाङको सदरमुकाम दिक्तेलमा । 
बढ्दो जनसंख्या र पानीको मुहान प्रर्याप्त नभएपछि सदरमुकाम दिक्तेलमा खानेपानीको समस्या भएको छ । गर्मी बढेसँगै पानीको मुहान सुक्न थालेको र मुहानै सानो भएपछि समस्या भएको हो । 
धारामा निर्धारित समयसम्म पानी नआएपछि हाटडाँडा क्षेत्रमा हाहाकार नै मच्चिएको उपभोक्ताहरुको भनाइ छ । उनीहरु भन्छन्, ‘अहिले नै यस्तो अवस्था छ, चैतबैशाखमा कुन गति हुने हो ।’
२०३२ सालमा २२ वटा धारा निर्माण गर्ने लक्ष्यका साथ दिक्तेलमा खानेपानी योजना सञ्चालन भएको थियो । त्यही योजनालाई बिस्तार गरेर हाल ३ सय ५० वटा धारामा बिस्तार गर्नुपरेकाले बजारमा खानेपानीको समस्या भएको  दिक्तेलबजार खानेपानी उपभोक्ता समितिका अध्यक्ष धनकुमार जोशीले बताउनुभयो । उहाँ भन्नुहुन्छ, ‘जिल्लामा तीनवटा आयोजनाहरु छन्, त्यसलाई एउटै बनाउन पाए पानीको दिर्घकालिन समस्या समाधान हुने थियो । तर, आफूहरुले एउटै बनाउने धेरै पहल ग¥यौं सम्भव भएन ।’ जिल्लामा अन्य बिकल्प नखोजिए झनै जटिल बन्दै जाने अध्यक्ष जोशीको भनाइ छ । 
उता, मिटर सिस्टम्ले पानी बितरण गर्ने हो भने, अहिलेकै मुहानबाट ल्याइएको पानीले पनि सदरमुकामबासीलाई प्रर्याप्त हुने जिल्ला खानेपानी तथा सरसफाई सब डिभिजन कार्यालय खोटाङका प्रमुख देवेन्द्रकुमार झाले बताउनुभयो । कार्यालयमा नयाँ योजना नआएकाले तत्काल समस्या समाधान गर्नका लागि मिटर सिस्टम् लागु गर्नु नै उपर्युक्त विकल्प हुने उहाँको भनाइ छ ।  
अहिले सदरमुकाममा दिक्तेलबजार खानेपानी योजना, रम्बाखोला र बिस्तारित बजार खानेपानी योजना सञ्चालनमा छन् । यसमा बिस्तारित खानेपानी योजनाले पाइप मात्र बिछ्याएको छ भने, दिक्तेलबजार खानेपानी योजनाले ३ सय ५० र रम्बाखोला खानेपानी योजनाले १ सय २७ वटा धारा सञ्चालनमा ल्याएको छ । तर, आफूहरुको धारामा महिनौदेखि पानी नआएको बताउँछन् केही उपभोक्ताहरु । केहीले भने, धारामा केही मात्रामा पानी आएपनि खान लायक नहुने बताउने गरेका छन् । धारामा जस्तो पानी आउँछ, त्यस्तै उपभोग गर्नु पर्ने बाध्यता रहेको दिक्तेल–४ का होटल व्यवसायी जयप्रसाद राईले बताउनुभयो । नजिकैमा पानीको अन्य मुहानहरु नभएकाले यस्तो बाध्यात्मक अवस्था ब्यहोर्नुपरेको उहाँको भनाइ छ । 
उता, अहिलेसम्म सदरमुकाम दिक्तेलमा बिस्तार गरिएको पानी परीक्षण र सुद्धिकरण नगरिएको उद्योग वाणिज्य संघ खोटाङका कार्यबाहक अध्यक्ष राजु लयालुले बताउनुभयो । उहाँ भन्नुहुन्छ, ‘बजारमा बिस्तार गरिएको पानीको पाइप कतिपय ठाउँमा फोहोर बग्ने ढलमै हालेर लगिएको छ ।’
यसैवीच, दुषित पानीकै कारण जिल्ला अस्पतालमा झाडापखालाका बिरामीको संख्या दिनानुदिन वृद्धि हुँदै गएको अस्पतालका डाक्टर तुलसीप्रसाद भटराईले बताउनुभयो । उहाँका अनुसार अहिले अस्पतालमा दैनिक २५ देखि ३० जनासम्म झाडापखालाका बिरामी आउने गरेका छन् । 
जिल्लाका कुनै पनि ठाउँमा बिस्तार गरिएको पानी परीक्षण नगरिकनै पिउने गरिएकाले यस्तो समस्या आएको डाक्टर भटराईको दावी छ । उहाँ भन्नुहुन्छ, ‘जिल्ला अस्पतालामा ल्याइएको पानी समेत पिउन लायक छैन ।’ सदरमुकामबासीले नै यस्तो नियती भोग्न परिरहेको छ भने, ग्रामिण भेगका मानिसहरुले कस्तो पानी प्रयोग गरिरहेका होलान्, सजिलै अड्कल काट्न सकिन्छ ।