फागुन–२४, खोटाङको हलेसी महादेवस्थान गुठीको जग्गा अतिक्रमण भएको पुष्टी भएको छ । जिल्ला प्रशासन कार्यालयको निर्देशनमा नापी कार्यालयले गरेको जग्गा नाप जाँचकाक्रममा हलेसी गुठीको जग्गा अतिक्रमण भएको पुष्टी भएको हो ।

आफुहरुको बिरोधका बावजुद पनि सल्लेका सुन्दर राई र हलेसीका हेमन्त गिरीले मन्दीरको जग्गा मिचेर घर बनाएको पुष्टी भएको हलेसी महादेवस्थान बिकास समितिका कार्यकारी निर्देशक तामन राईले जानकारी दिनुभयो ।

महादेवस्थान–४ स्थित कित्ता नम्बर ३८७ र ३६८ मा निर्माण गरिएको राईको घर र कित्ता नम्बर ३८२ र ३८३ मा निर्माणाधिन गिरीको घरले मन्दीरको जग्गा मिचेको कार्यकारी निर्देशक राईले बताउनुभयो । गुठीको जग्गा अतिक्रमण भएको गुनासो बढेपछि नापी कार्यालयले गुठीको जग्गा निश्चित गर्नकालागि नापजाँच गरेको हो ।

हलेसीमहादेबस्थान बिकास समिति र हलेसी महादेव मन्दिर व्यवस्थापन समितिको पटक पटकको बिरोधका बावजुद पनि महादेवस्थानको जग्गा अतिक्रमण गरी घर निर्माण गरिरहेको हलेसी महादेव मन्दिर व्यवस्थापन समितिका अध्यक्ष गजुरमान राईले बताउनुभयो । नेपाली कांग्रेसका स्थानीय नेताहरुको संरक्षणमा उनीहरुले हलेसीको अग्गा तिक्रमण गर्न अघि सरेको कार्यकारी निर्देशक राईले दावी गर्नुभयो । स्थानीय शिक्षक समेत रहेका गिरीले हलेसी मन्दिरको पछाडि र राईले मन्दिरको अगाडितर्फको प्रवेशद्धार छेउमा पक्की घर बनाइरहेका छन् ।

गुरु योजना लागू हुँदा प्रशस्त मुआब्जा पाउने आशामा हलेसी महादेवस्थानको जग्गा अतिक्रमण बढेको हो । अहिले जग्गामा दावी गर्दै मन्दिरकै छेउछाउमा घर बनाउनेक्रमले तिब्रता पाएको कार्यकारी निर्देशक राईको भनाइ छ । हलेसी महादेव मन्दिर व्यवस्थापन समितिले जिल्ला प्रशासन कार्यालय समक्ष हलेसी महादेवस्थानको जग्गामा निर्माण भइरहेको घरको निर्माण कार्य रोक्न माग गर्दै आएको छ ।