फागुन–२५, महिलाहरुले महिला हिंसा विरुद्धको दिवस मनाइरहेका बेला न्याय र सुरक्षाको माग गर्दै एक महिला सदरमुकाम दिक्तेल आइपुग्नु भएको छ ।

आफ्नै जेठाजु पदम, देवर नरेन्द्र र देउरानी निर्मला राईको कुटाइबाट गम्भिर घाइते भएकी रामशोभा उचित न्याय माग्दै दिक्तल आइपुग्नुभएको हो । छोराले बाँसको घाँस काटी दिएको निहुँमा बाँसको लाठी प्रहारबाट टाउकोमा गहिरो चोट र दायाँ हात भाँचिएर जिल्ला अस्पतालमा उपचार गराउन बिहीबार दिक्तेल आइपुगेकी रामशोभाले ओढ्नेको फेरले आँशु पुछ्दै भन्नुभयो, ‘एक हप्ता बित्यो, नत मैले उपचार नै पाएँ नत न्याय नै । अस्पतालका बेडबाट उठेर १०३ औं अन्तर्राष्ट्रिय महिला दिवसको कार्यक्रम स्थलमा आइपुगेकी रामशोभाले सबैको सामु दुःखेसो पाख्नुभयो ।’

६ वर्षअघि श्रीमान् गुमाएर एक्लो जीवन बिताइरहेकी सल्ले–९ की रामशोभाले प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालको सभापतित्वमा भएको महिलाहरुको कार्यक्रममा यस्तो दुःखेसो गर्नुभएको हो । घाँस काटिदिएको निहुँमा जेठाजुले कपालमा समाएर पछारेपछि देवर र देउरानीले बाँसले हानेर मरनासन्न हुनेगरी कुटपिट गरेको उहाँले बताउनुभयो ।

यता, पिडकलाई प्रहरीले पक्रेपनि राजनीतिक दलका नेताहरुले छुटाउने प्रयास गरिहेको प्रति महिला मानव अधिकार रक्षक सञ्जाल र पारालिगल कमिटि खोटाङले ध्यानाकर्षण भएको जनाएको छ । पीडितले उचित न्याय र पीडकलाई कडा कार्वाही गरिनुपर्ने महिला मानव अधिकार रक्षक सञ्जाल खोटाङकी अध्यक्ष पूर्णमायाँ तामाङले बताउनुभयो । तामाङले भन्नुभयो, ‘पीडितलाई न्याय र पीडकलाई कार्वाही गर्नुको सट्टा उल्टै राजनीतिक दलहरुले संरक्षण दिइएका छन्, नीति निर्माण गर्ने दलहरुले यस्तो गर्नु कत्तिको जायज कुरा हो ।’

उता, पीडित नै सम्बन्धित निकायसम्म आइ नपुगेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायव उपरिक्ष राजिव बस्नेतले बताउनुभयो । उहाँले भन्नुभयो, ‘पीडित आफूहरु कहाँ आए तत्काल कार्वाहीको प्रक्रिया अगाडि बढाउने थियौं ।’

खोटाङमा यस्ता घटना भने, पहिलो हैन । जिल्लामा कँही न कँही यस्ता घटनाहरु भइनै रहेका छन् । तर, यस्ता घटनाहरु सम्बन्धित निकायसम्म आउन नसक्दा धेरै महिलाहरुले न्याय पाउन सकिरहेका छैनन् ।  कतिपय गम्भिर किसिमका घटनाहरु गाउँमै मिलाउने गरेको पारालिगल कमिटि खोटाङकी सचिव डिल्लीकुमार आचार्यले बताउनुभयो ।