फागुन २८ – खोटाङको दिक्तेलमा सञ्चालित हलेसी पोलिक्निकमा कार्यरत डाक्टर जीवन मेहताले आफू नेपाल सरकारद्धारा मान्यता प्राप्त स्वास्थ्यकर्मी नभएको स्वीकार गर्नुभएको छ ।

गत फागुन–१७ गते उपचार गर्न आएका बाम्राङ–२ का ७१ वर्षीय चन्द्रसेन राईको ज्यान गएपछि बन्द गरिएको क्लिनिक र सहमतीको प्रयासका विषयमा भएको छलफल डाक्टर मेहताले यस्तो स्वीकार गर्नुभएको हो । आफूले चीनबाट एमबीबिएस उतिर्ण गरेपनि नेपाल मेडिकल काउन्सिलको परीक्षामा फेल भएको स्वीकार्दै जबसम्म उतिर्ण हुँदिन, तबसम्म कुनैपनि सिरिन्ज प्रयोग नगर्ने प्रतिवद्धता जनाउनुभएको छ ।

डाक्टर मेहताले यस्तो स्वीकार गर्नुभएपछि आवश्यक कार्वाही र छानविनका लागि जिल्ला प्रशासनलाई अनुरोध गर्ने निर्णय गरिएको छ । पीडित पक्ष, क्लिनिक सञ्चालक, राजनीतिक दल, सरोकारवाला तथा वुद्धिजीविहरुको सर्वपक्षीय भेलाले यस्तो निर्णय गरेको हो । खुट्टा सुन्निने रोगको उपचार गर्नेक्रममा ज्यान गुमाएका बिरामीको मृत्यु भएपछि उचित छानबिन नभएसम्म क्लिनिक बन्दै गर्ने सहमती भएको छ ।

उपचारकाक्रममा ज्यान गुमाएका चन्द्रसेनको आफन्तले मृत्यु हुनुको कारण माग गर्दै बिरोध गरेपछि क्लिनिक बन्द गरिएको हो । पाँच मिनेटको अन्तरमा दुई वटा सुई लगाएको पाँच मिनेटपछि नै राईको ज्यान गएको मृतकका आफन्त रबिप्रकाश राईले बताउनुभएको छ । क्लिनीकका डाक्टर जीवन मेहताले भने ‘एसीलक’ र ‘ल्यासिक्स’ नामक सुई ३० मिनेटको अन्तरमा लगाइएको दावी गर्नुभएको छ । खुट्टाको समस्या लिएर उपचार गराउन आएका राई दम र मुटुको पनि बिरामी रहेको डाक्टर मेहताको भनाइ छ ।