चैत्र–५, आफ्नै विद्यालयमा अध्ययनरत छात्राहरुलाई बलात्कारको प्रयास गर्ने खोटाङका तीन जना छात्रलाई सामाजिकरुपमा माफी मगाइएको छ । विजयखर्कस्थित चम्पावती माविको कक्षा–९ मा अध्यायनरत राजन ढकाल, किरण ढकाल र लालबहादुर विश्वकर्माले आफ्नै विद्यालयमा अध्ययनरत ११ जना छात्राहरुलाई आईतबार बलात्कार गर्ने प्रयास गरेपछि सोमबार बसेको शिक्षक र अविभावकहरुको बैठकमा माफी मगाइएको हो । 

बिजयखर्क–३ को सहदेवगढीस्थित गुफा हेर्न गएका छात्राहरुलाई बलात्कार गर्ने प्रयास गरेपछि दोषीलाई कार्वाहीको माग गर्दै अविभावकले सोमबारदेखि अनिश्चितकालिन विद्यालय बन्द गराउने बताएका थिए । बलात्कारको प्रयास गरेको बिरोधमा अविभावकले सोमबार बिहानैदेखि अनिश्चितकालिन विद्यालय बन्दको घोषणा गरेका हुन् । अमर्यादित काम गर्ने छात्रहरुले माफी मागेसँगै मंगलबारबाट पुनः विद्यालय सञ्चालन गर्ने निर्णय गरिएको बैठकमा सहभागी प्रमेश ढकालले बताउनुभएको छ ।

छिमेकी गाविस बुइपास्थित चम्पावती उच्च माविमा सञ्चालन भइरहेको एसएलसी परीक्षा हेरेर घर फर्कदै गरेका तीन छात्रहरुले गुफाभित्र पसेको समयमा छात्राहरुलाई आईतबार दिउँसो बलात्कारको प्रयास गरेको अविभावक बद्री ढुङ्गानाले बताउनुभयो । आफूहरुलाई ‘पालैपालो गुफाभित्र पस्न’ भन्दै बलात्कारको प्रयास गरेको पीडित छात्राहरुले बताएका थिए ।

बलात्कारका आरोपित छात्रहरुलाई अविभावकहरुको सामू माफी मगाइ भौतिक कार्वाही गरिएको प्रधानाध्यापक गोविन्द पोखरेलले बताउनुभयो ।