चैत्र–८, निर्वाचन हुने माहोल बन्दैगएपछि खोटाङका विद्यार्थी संगठनबिचमा ट्यूसन कक्षा सञ्चालन गर्ने होड चलेको छ । मुलुकमा संविधानसभा र स्ववियू निर्वाचन हुने संकेत देखिन थालेपछि जिल्लास्थित नेपाल विद्यार्थी संघ र अनेरास्ववियुबीचमा कक्षा ११ र १२ को ट्यूसन पढाउने होड चलेको हो । 
निशुल्क ट्यूसन कक्षाका माध्यायमबाट आफ्नोपक्षमा विद्यार्थी तान्नकालागि उनीहरुबीच ट्यूसन कक्षाको होडबाजी चलेको श्रोतको भनाइ छ । अनेरास्ववियुले अंग्रेजी विषयको ट्यूसन कक्षा शुरु गरेको तीन दिन बित्न नपाउँदै नेपाल विद्यार्थी संघले पनि बुधबार अंग्रेजी विषयमै एक महिने निशुल्क ट्यूसन कक्षा शुरु गरेको छ । 
नेपाल विद्यार्थी संघले दिक्तेलको सरस्वती उच्च माविमा शुरु गरेको ट्यूसन कक्षामा दिक्तेल बहुमुखी क्याम्पस र सरस्वती उच्च माविका १ सय २१ जना विद्यार्थी सहभागी छन् । 
यस्तै, अनेरास्ववियुले एमाले पार्टी कार्यालयमा सञ्चालन गरेको ट्यूसन कक्षामा ९१ जना विद्यार्थी सहभागी भएको अनेरास्ववियूले जनाएको छ । उच्च मावि तहका विद्यार्थीहरु अंग्रेजी विषयमा कमजोर भएका कारण सो विषयको ट्यूसन कक्षा शुरु गरेको नेपाल विद्यार्थी संघ खोटाङका अध्यक्ष राजकुमार राईको भनाइ छ । 
अंग्रजी विषयमा विद्यार्थीको क्षमता सुधारकैलागि ट्यूसन कक्षा शुरु गरिएको अनेरास्ववियु खोटाङका संयोजक मिलन राईले दावी गर्नुभयो ।