चैत्र–१५, खोटाङको बाँझेच्यानडाडा गाबिसलाई घरभित्रको धुवाँरहित गाविस घोषणा गरिएको छ । गाविसका ५ सय ४७ घरमा सुधारिएको चुल्हो निर्माण भएपछि बाँझे च्यानडाँडा गाविसलाई घरभित्रको धुवाँरहित गाविस घोषणा गरिएको हो । 
‘घरभित्रको प्रदूषण कम गरी परिवारको जीवनमा सुधार, सुधारिएको चुल्हो जडानले सबैको उपकार’ भन्ने नारासहित बुधबार स्थानीय विकास अधिकारी युवराज अधिकारीले गाविसलाई घरभित्रको धुवाँरहित क्षेत्र घोषणा गर्नुभएको हो । 
च्याँनडाँडा गाविसको वडा नम्बर १ स्थित झगरपुर टोलको एक भाग ।

प्रत्येक घरभित्रको अगेनाबाट निस्कने धुवाँलाई सुधारिएको चुल्होमार्फत घरबाहिर निकाश गर्ने व्यवस्था मिलाएपछि गाविसलाई घरभित्रको धुवाँरहित गाविस घोषणा गरिएको बालसेवा समाज खोटाङका अध्यक्ष दीपनारायण रिजालले बताउनुभयो । बाँझेच्यानडाँडा गाविस जिल्लामै दोश्रो घरभित्रको धुवाँरहित गाविस बनेको छ । 
यसअघि बिजयखर्क गाविसलाई पहिलोपल्ट घरभित्रको धुवाँरहित गाविस घोषणा गरिएको थियो । नेपाल सरकार बैकल्पीक उर्जा प्रवर्धन केन्द्र र उर्जा क्षेत्र सहयोग कार्यक्रम अन्तरगत श्रोत व्यवस्थापन तथा ग्रामिण शसक्तीकरण केन्द्र रिमरेकको सहयोगमा बालसेवा समाज नेपाल खोटाङको पहलमा गाबिसलाई घरभित्रको धुवाँरहित घोषणा गरिएको हो । 
सिंगो गाबिस घरभित्रको धुवाँरहित बनेपछि आफ्नो स्वास्थ्यमा सुधार आएको, दाउराको खपत कम हुँदा जंगल संरक्षण भएको घर परिवार आमा समुहका अध्यक्ष धर्मकुमारी लामाले बताउनुभयो । 
गाविस सचिव मेघराज आचार्यको सभापतित्वमा भएको कार्यक्रममा राजनैतिक दलहरुकातर्फबाट एकीकृत नेकपा माओवादीका गौधन गुरुङले गाविसमा विद्युत, स्वास्थ्यचौकी, विद्यालय भवन निर्माण, सडक बिस्तारकालागि दातृसंस्थाहरुको ध्यानाकर्षण गराउनुभएको छ । कार्यक्रममा स्थानीय बिकास अधिकारी युवराज अधिकारी, बालसेवा समाज नेपालका अध्यक्ष दिपनारायण रिजालल लगायतले सम्बोधन गर्नुभएको थियो ।