चैत्र–२०, मेनपावर कम्पनीबाटै ठगिएर मलेसिया पुगेका खोटाङ्गे दुई युवालाई ११ दिनपछि उद्दार गरिएको छ । सुरक्षित आप्रवासन सूचना केन्द्र खोटाङको पहलमा नेर्पा–४ का ३३ वर्षीय तोयानाथ बास्तोला र दिक्तेल–३ का २३ वर्षीय राजकुमार पाण्डेलाई उद्दार गरिएको हो । 
उद्दारपछि उनीहरु आफूले कम्पनीमा बुझाएको धरौटी रकम लिने र घर फर्कने तयारीमा रहेको केन्द्रका कार्यक्रम संयोजक भक्त राईले जानकारी दिनुभयो । कार्यक्रम संयोजक राईका अनुसार केन्द्रमा आएको निवेदनको आधारमा पिपुल्स फोरममार्फत मेनपावर र एजेण्टलाई वादी बनाएर बेदेशिक रोजगार विभागमा उजुरी हालिएपछि उनीहरु नेपाल फर्कन सफल भएका हुन् । विभागमा उजुरी परेपछि मेनपावर कम्पनी र एजेण्टलाई विभागमै बोलाएर तत्काल उद्दार गर्न आदेश दिएका थिए ।
उनीहरु खोटाङकै लफ्याङ घर भइ हाल काठमाडौं बस्दै आएका डिल्ली कटुवाल मार्फत काठमाडौंको प्याराडाईज् मेनपावर कम्पनीबाट मलेसिया पुगेका थिए । उनीहरुका अनुसार मेनपावरले प्रतिव्यक्ति मासिक १ हजार २ सय ५५ रिङ्गेट दिने बताएको पीडित पक्षको भनाइ छ । तर, अन्तमा जंगलमा लगेर छाडिदियो, तलब त के, धरौटी रकम नै कसरी फर्काउने हो ! पीर लागिरहेको छ, पीडित पाण्डेले दुखेसो पोख्नुभयो ।
कम्पनीमार्फत ठगिएका पीडितहरु भन्छन्, ‘कम्पनीले भवन निर्माणको काममा लगाइदिन्छु भनेर गत चैत्र–६ गते हामीलाई मलेसिया पु¥याएको थियो, तर, नामै थाहा नभएको कम्पनीको मान्छेहरु आए, अनि गाडीमा राखेर घनाजंगलको सानो पाटी जस्तो ठाउँमा लगेर छाडे, खानु न पिउनुभएपछि अन्य कम्पनीका नेपाली साथीहरुले सहारा दिए ।’ 
बैदेशिक रोजगारीमा जाँदा मलेसियाको लागि अधिकतम् ८० हजार मात्र धरौटी बापतको रकम लिन पाउने प्रावधान रहेपनि उनीहरुबाट कम्पनीले एक लाख दश हजार रुपैया असुलेर विदेश पठाएको थियो । 
बिचल्लीमा परेपछि नेपाली साथीहरुको सहारा लिएर घरमा सम्पर्क गरी बिचल्ली भएको खबर पठाएपछि उद्दार गरिदिन केन्द्रमा निवेदन दिएका थियौं, ‘त्यही निवेदनको आधारमा उहाँहरुलाई उद्दार गरिदियो, पीडित पाण्डेकी श्रीमती गीता पाण्डेले बताउनुभयो ।’ 
वैदेशिक रोजगार ऐन २०६४ अनुसार तोकिएको काम र दाम नदिए वैदेशिक रोजगारमा जाँदा तिरेको रकम प्रमाणको आधारमा एजेन्ट वा मेनपावर कम्पनीले रोजगारीमा गएका व्यक्तिलाई फिर्ता दिनुपर्ने व्यवस्था छ ।