चैत्र–२२, जिल्लाका सर्वसाधारणहरुसँग अत्यधिक मात्रामा अवैध हातहतियार रहेको अनुमान गरिएपनि बुझाउन आग्रह गरेको महिना दिनमा एउटा मात्र संकलन भएको छ । 
जिल्ला प्रशासन कार्यालय खोटाङले सार्वजनिक सूचना प्रकाशन गरेर हतियार बुझाउन आग्रह गरेको महिना दिनपछि दक्षिणी गाविस बोपुङ–९ का चतुरमान राईलेमात्र एउटा भरुवा बन्दुक बुझाउनुभएको हो । 
राईले देविस्थान प्रहरी चौकीमार्फत चिसापानी इलाका प्रहरी कार्यालयमा एक नाले भरुवा बन्दुक बुझाएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक दुर्गा रेग्मीले जानकारी दिनुभयो । प्रहरी निरीक्षक रेग्मीका अनुसार जिल्लामा अत्यधिक मात्रामा अवैध हतियार रहेका छन् । निरीक्षक रेग्मी भन्नुहुन्छ, ‘सर्वसाधारण नागरिकमा जनचेतनाको अभावले हतियार नबुझाइएको हो ।’
तोकिएको अवधि भित्र इजाजत विनाका अवैध हातहतियार तथा खरखजना नबुझाएपछि कसैसँग भेटिएमा हातहतियार तथा खरखजना ऐन २०१८ अनुशारको कारबाही गरिने निमित्त प्रमुख जिल्ला अधिकारी उमेशकुमार दाहालले बताउनुभयो । कसै नागरिकसँग अवैध हातहतियार भेटिएमा प्रचलित कानून बमोजिम ५ वर्षसम्म कैंद सजाय वा एक लाखसम्म जरिवाना वा दुबै जरिवाना गर्न सकिने व्यवस्था छ ।
अवैध हतियारबिहिन समाज स्थापना गर्दै शान्ति सुरक्षाको व्यवस्थापनका लागि प्रशासनले गत फागुन दोश्रो हप्ता अवैध हातहतियार बुझाउन सर्वसाधारणलाई आग्रह गरेको थियो । 
अवैध हातहतियार बुझ्न र बुझाउनकालागि जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय खोटाङ बाहेक ईलाका प्रहरी कार्यालय ऐसेलुखर्क, ईलाका प्रहरी कार्यालय खोटाङबजार र ईलाका प्रहरी कार्यालय चिसापानीमा सम्पर्क स्थान तोकिएको थियो ।