चैत २६- हृदयघातका कारण कतारमा ज्यान गुमाएका खोटाङका एक युवकको परिवारलाई आर्थिक सहयोग उपलब्ध गराइएको छ ।

बाँझेच्यानडाँडा–२ का २० वर्षीय दिलीप भुजेलको परिवारलाई खोटाङ सेवा समाज दोहा कतार र उनकै कम्पनीमा कार्यरत नेपाली साथीहरुबाट सङ्कलन भएको रु तीन लाख चार हजार ५ सय ९५ उपलब्ध गराइएको हो ।

साथीहरुबाट सङ्कलन भएको रु एक लाख ६२ हजार र कम्पनीबाट प्राप्त रु एक लाख ४२ हजार ५८९ गरी रु तीन लाख चार हजार ५ सय ९५ मृतक भुजेलका बुबा नरबहादुर भुजेललाई हस्तान्तरण गरिएको खोटाङ सेवा समाज दोहा कतारका महासचिव नारायण बस्नेतले जानकारी गराए ।

आर्थिक अवस्था कमजोर भएका भुजेलको गत फागुन १९ गते सुतेकै ठाउँमा मृत्यु भएको थियो । तीन महिनाअघि कतार पुगेका भुजेल बेलुकाको ड्यूटी सकेर सुतेका र भोलिपल्ट बिहान मृत अवस्थामा फेला परेका थिए । सनैयास्थित एमटिसी कम्पनीमा हेल्परका रुपमा कार्यरत भुजेलको हृदयघातका कारण मृत्यु भएको महासचिव बस्नेतले जानकारी दिए ।

मृतक भुजेलको शव नेपाल पठाइ सकिएको छ । भुजेलको शवसँगै एक हप्ताअघि काम गर्दागर्दै दुर्घटनामा परी ज्यान गुमाएका टेम्मा–५ का २१ वर्षीय प्रदीप बस्नेतको शव पनि नेपाल ल्याइएको छ । आफन्त र समाजको पहलमा दुवै जनाको शव नेपाल ल्याइएको पारिवारिक स्रोतले जनाएको छ ।

यसैबीच, नौ महिनाको अवधिमा कतार पुगेका ६ जना खोटाङ्गे युवकको ज्यान गइसकेको छ । जसमध्ये चार हृदयघात, एक रहस्यमय र एकजनाको दुर्घटनामा परी निधन भएको समाजले जनाएको छ ।