बैशाख–११, चट्याङमा परी खोटाङमा एक बालकको ज्यान गएको छ भने, चार जना घाइते भएका छन् । सोमबार राती परेको चट्याङले दिप्लुङ–९ का मंगलध्वज राईको १३ वर्षीय छोरा निशान राईको घटना स्थलमै ज्यान गएको हो । 
खाना खाएर आगो तापिरहेको अवस्थामा मंगलध्वजको घरमै परेको चट्याङले उनका ८ वर्षीय छोरा गणेश राई, ३९ वर्षीय भाइ सन्तोष राई, साइनोले भतिज पर्ने १३ वर्षीय सियाहाङ राई र सोही गाविसको वडा नम्बर–७ बस्ने ५० वर्षीय रामकुमार राई घाइते भएका हुन् । 
घाइते सबैको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको इलाका प्रहरी कार्यालय चिसापानीका प्रहरी सहायक निरीक्षक बच्चुराम बुढाथोकीले जानकारी दिनुभयो । घाइते सबैको अवस्था खतरामुक्त रहेको पारिवारिक श्रोतले जनाएको छ ।