बैशाख–१८, आवश्यक भवनको अभावमा खोटाङका दुई विद्यालयले एउटै कोठामा दुई वटा कक्षा सञ्चालन गर्दै आएका छन् । भवन र कक्षा कोठाको अभावमा वाप्लुखा–१ स्थित महेन्द्रोद्धय माबि र लिच्कीराम्चे–६ को लक्ष्मी माविले दुई वटा कक्षाका विद्यार्थीलाई एउटै कक्षामा राखेर पठन–पाठन गराउँदै आएका हुन् ।

दुवै विद्यालयमा कक्षा–२ र ३ का विद्यार्थीलाई एउटै कोठामा राखेर कक्षा सञ्चालन हुँदै आएको विद्यालयले बताएको छ । सबैभन्दा कम बिद्यार्थी संख्या भएको कक्षाहरुलाई समेटेर एउटै कक्षामा राखिएको महेन्द्रोद्धय मावि वाप्लुखाका प्रधानाध्यापक खड्गबहादुर खड्काले बताउनुभयो ।

दुई वटा कक्षाका विद्यार्थीलाई एउटै कोठामा राखेर पढाउँदा हो–हल्ला हुने र पढाएको विषयबस्तु विद्यार्थीले नबुझ्ने समस्या भएको शिक्षकहरुको भनाइ छ । सबैभन्दा संवेदनशिल तहका विद्यार्थीलाई एउटै कोठामा राखेर गराइने पठन–पाठन बाल तथा बिद्यार्थीमैत्री बन्न नसकेको अबिभाबकहरु बताउँछन् । पटक–पटक भवनको माग गर्दै आएपनि राजनैतिक भागवण्डामा वितरण हुने शिक्षाको भवन हालसम्म पर्न नसकेको व्यवस्थापन समितिले गुनासो गरेका छन् ।

यसैबीच, विद्यालयमा खानेपानीको व्यवस्था नहुँदा खोटाङको लिच्कीराम्चे र च्यास्मीटारका विद्यार्थीहरुले घरबाटै पानी लैजाने गरेका छन् । पर्याप्त पानीको श्रोत नभएका यी गाबिसका विद्यार्थीहरु पेप्सी, कोकाकोला, टुमलेट लगायतका प्लाष्टिकको बोतलमा पानी लिएर विद्यालय जाने गरेका छन् ।

विद्यालयका कार्यालय सहयोगीले ल्याउने एक गाग्रो पानीले दिनभर सबै विद्यार्थीलाई अपुग हुने भएपछि आफैले पानीको व्यवस्था गर्दै आएको विद्यार्थीहरु बताउँछन् । विद्यालय वरपरको होटल तथा पशलहरुमा पनि खाजा वा नास्ता नखाइदिएसम्म पिउने पानी नपाइने उनीहरुको भनाइ छ । पिउने पानीकै कारण भौतारिनु परेपछि विद्यार्थी आफैले पानी बोकेर विद्यालय आउने गरेको लिच्कीराम्चेस्थित लक्ष्मी माविका प्रधानाध्यापक चण्डिप्रसाद सापकोटाले बताउनुभयो । विद्यालयका पाँच सयभन्दा बढि विद्याथर्बीले आफ्नो स्वास्थ्यकालागि आवश्यक पर्ने मात्रामा पानी पिउन नपाइरहेको विद्यालयको अनुमान छ ।