बैशाख–२३, ठगीमा परी मलेसिया पुगेका एक नेपालीको सुरक्षित आप्रवासन सूचना केन्द्र खोटाङको पहलमा उद्धार गरिएको छ ।

सम्झौता बिपरित रासायनिक पदार्थ राखिएका भाँडाकुँडा तथा उपकरणहरु पखाल्ने काममा लगाइएका १३ नेपालीमध्ये खोटाङको बुइपा–६ का २९ वर्षीय सागर राईलाई उद्धार गरिएको हो ।

सम्झौता बिपरितको काममा लगाइएको, तोकिएजती तलब नदिएको, कार्यरत कम्पनीबाट निस्किएको रासायनिक पदार्थका कारण हातका नङ पाक्ने समस्यबाट बिरामी परेको भन्दै उद्धारकालागि आग्रह गरेपछि राईलाई फिर्ता ल्याइएको केन्द्रका कार्यक्रम संयोजक भक्त राईले जानकारी दिनुभयो । निशुल्क कानूनी सहायता प्रदान गर्दै आएको केन्द्र (पिपुल्स फोरम)को सहयोग तथा सूचना केन्द्रको पहलमा उद्धार गरिएका सागर सोमबार नेपाल फर्किनु भएको छ ।

नेपाल फिर्ता आउनु भएका राईले तत्काल क्षतीपूर्तीकालागि कानूनी प्रकृया थाल्नु भएको सूचना केन्द्रले जानकारी दिएको छ । उद्धारकालागि सूचना केन्द्रमा उजुरी आएपछि  पिपुल्स फोरममार्फत मेनपावरबिरुद्ध बैदेसिक रोजगार बिभागमा मुद्धा हालिएको थियो । सामान प्याकिङको कामकालागि भन्दै काठमाडौंको रिक्रुटमेन्ट प्रालिले सागरसहित १३ नेपाली युवालाई गत चैत्र–२९ गते मलेसियाको सिलाङगढ जिल्लाको सन्तोषास्थित रिभर स्टोन रिसर्च कम्पनीमा पु¥याएका थिए ।

सम्झौता बिपरित रासायनिक पदार्थ राखिएका भाँडाकुँडा तथा उपकरणहरु पखाल्ने काममा लगाइएपछि मलेसियामा अझै राईबाहेक १२ नेपाली बिचल्नीमा छन् । रिसर्च कम्पनीबाट निस्किएको रासायनिक पदार्थका कारण शुरुमा आँखामा कचेरा आउने र क्रमशः हातका नङ पाक्ने समस्यबाट नेपाली कामदारहरु बिरामी परेको उद्धारपछि सोमबार नेपाल फर्कनु भएका सागरले जानकारी दिनुभयो ।

उहाँका अनुशार सिकिस्त बिरामी परेका उदयपुरका तोपबहादुर सुनुवार राईको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । सबै कामदार बिरामी पर्न थालेपछि ‘हामीलाई पैसा चाहिदैन, स्वदेश फर्कन देउ’ भन्दा पनि कम्पनीले आफ्नो कुरा नसुनेको सागरले बताउनुभयो ।

मासिक ९ सय रिंगेट दिने शर्तमा मलेसिया पु¥याइए पनि कम्पनीले आफुहरुलाई मासिक ६५० मात्र दिएको नेपाली कामदारहरुको भनाइ छ । कम्पनीबाट ठगिएपछि कतिपय साथीहरु दैनिक आफ्नो कोठामा रुँदै बस्ने गरेको नवलपरासीको झ्यालबासका चन्द्र गाहामगरले बताउनुभयो ।

अलग–अलग डिपार्टमेन्टमा राखेका कारण कतिपय साथीहरुसँग भेट नहुने गरेको उनीहरुको भनाइ छ । गाहामगरका अनुशार १३ नेपालीको कम्पनीकै प्यासेजमा सुतबस गर्नु पर्ने बाध्यता छ ।

यसैबीच, मलेसियाबाट अलपत्र अवस्थामा उद्धार गरिएका खोटाङको नेर्पा–४ का ३३ वर्षीय तोयानाथ बास्तोला र दिक्तेल–३ का २३ वर्षीय राजकुमार पाण्डे सुरक्षित आप्रबासन सूचना केन्द्रको सम्पर्कमा आउनु भएको छ । दिक्तेलस्थित सूचना केन्द्रको पहलमा गत चैत्र–१७ गते उद्धार गरिएपछि घर आउनु भएका बास्तोला र पाण्डे एकैसाथ सूचना केन्द्रको सम्पर्कमा आउनुभएको हो ।

आफुहरुलाई अलपत्र अवस्थामा उद्धार गरेकामा उहाँहरुले सुचना केन्द्रप्रति आभार व्यक्त गर्नु भएको छ । खोटाङकै लफ्याङ घर भइ हाल काठ्माडौं बस्दै आएका डिल्ली कटवालमार्फत काठमाडौंको प्याराडाईज मेनपावर कम्पनीबाट बास्तोला र पाण्डे सहितका नेपाली युवा गत चैत्र–६ गते मलेसिया पुगेका थिए ।

मेनपावर कम्पनी र एजेण्टबाटै ठगिएर मलेसिया पुगेपछि उनीहरु घनाजंगलमा अलपत्र बनेका थिए । नचिनिएका समुहले जंगलमा लगेर छाडेपछि अन्य कम्पनीमा कार्यरत नेपालीहरुले उनीहरुलाई जंगलमै खाने र बस्ने व्यवस्था मिलाइ दिएका थिए । उनीहरुसँगै, अलपत्र परेका खोटाङकै डाडाँगाउँ–६ का २६ वर्षीय अस्बिन सिग्देल, टेम्मा–९ का २३ वर्षीय प्रदिप खत्री र सुनसरी झुम्का–२ का ३२ वर्षीय साजन भटराईको पनि २७ दिनपछि उद्धार गरिएको थियो ।