बैशाख–२५, मलेसियाबाट अलपत्र अवस्थामा उद्धार गरिएका  चार खोटाङे सहित पाँच नेपालीले मेनपावर कम्पनी र एजेण्टबाट क्षतीपूर्ती लिएका छन् । 
मलेसिया पुगेर अलपत्र अवस्थामा उद्धार गरिएका खोटाङको डाडाँगाउँ–६ का २६ वर्षीय अस्बिन सिग्देल, टेम्मा–९ का २३ वर्षीय प्रदिप खत्री, नेर्पा–४ का ३३ वर्षीय तोयानाथ बास्तोला, दिक्तेल–३ का २३ वर्षीय राजकुमार पाण्डे र सुनसरी झुम्का–२ का ३२ वर्षीय राजन भट्टराईले आफुहरुलाई अलपत्र बनाउने काठमाडौंको प्याराडाईज मेनपावर कम्पनी र एजेन्ट डिल्ली कट्वालबाट प्रतिव्यक्ती ४०÷४० हजार क्षतीपूर्ती लिनु भएको हो । 
खोटाङको लफ्याङ घर भइ हाल काठ्माडौं बस्दै आएका एजेन्ट डिल्ली कट्वालमार्फत प्याराडाईज मेनपावर कम्पनीबाट गत चैत्र–६ गते मलेसिया पुगेका अस्विन, प्रदीप र राजनलाई अलपत्र बनेको २७ दिनपछि बैसाख–३ गते र तोयानाथ र राजकुमारलाई गत चैत्र–१७ गते मलेसियाबाट उद्धार गरिएको थियो । सुरक्षित आप्रवासन सूचना केन्द्र खोटाङको पहलमा उद्धार गरेर स्वदेश फर्काइएका उहाँहरुले निशुल्क कानूनी सहायता प्रदान गर्दै आएको पिपुल्स फोरमको कानूनी परामर्श र सहयोगमा मेनपावर कम्पनी र एजेन्टबाट क्षतीपूर्ती लिनु भएको हो । 
अस्विन, प्रदीप र राजनले मेनपावर कम्पनीबाहेक एजेन्टबाट थप १५÷१५ हजार तथा तोयानाथ र राजकुमारले पहिला तिरेको खर्चमा पुःन अर्को देशमा पठाउने शर्तमा एजेन्टलाई सम्झौता गराउनुभएको सुरक्षित आप्रवासन सूचना केन्द्र खोटाङका कार्यक्रम संयोजक भक्त राईले जानकारी दिनु भयो ।