बैशाख–३०, समयमा खबर नपाउँदा मलेशियामा ज्यान गुमाएका खोटाङका दुई मृतकका परिवारले पाउने राहत तथा क्षतिपूर्ति गुम्ने अवस्था आएको छ ।
सरकारले मृतक परिवारलाई समयमा खबर नगरेका कारण छितापोखरी–८ का चण्डीप्रसाद राई र दोर्पाचिउरीडाँडा–८ का जहितबहादुर चौहानले पाउने क्षतिपूर्ति रकम गुम्ने आवस्था आएको हो ।
मलेशिया सरकारले दुतावासमार्फत नेपाली मृतक कामदारलाई क्षतिपूर्ति दिन परिपत्र गरेपनि मृतक परिवारले यसबारेमा खबर पाउन नसकेको पीडित परिवारको गुनासो छ ।
मलेशिया सरकारले मृतक राई परिवारलाई २३ हजार रिंगेट अर्थात झण्डै साढे ६ लाख रुपैयाँ र चौहानले २५ हजार रिंगेट अर्थात झण्डै ७ लाख रुपैयाँ दिने बताएको छ ।
यद्यपी मृतक चण्डीप्रसाद राईको भने आवश्यक कागजपत्र तयार गरी पठाइसकिएको छिमेकी अमृत गिरीले बताउनुभयो ।
आउँदो जेठ–१६ गतेभित्रमा आवश्यक प्रमाणित कागजपत्र नपुगेमा मृतक परिवारले पाउन लागेको क्षतिपूर्ति रकम मलेशिया सरकारको श्रम बिभाग कोषमा फिर्ता हुने छ ।
आवश्यक कागजातका लागि नेपाल सरकारले राष्ट्रिय स्तरका सञ्चारमाध्यम मार्फत आह्वान गरेपनि गाउँमा बस्ने मृतक परिवारले यसबारेमा थाहा पाउन नसकेको गिरीको भनाइ छ ।
बैदेशिक रोगगारीका सिलसिलामा आइपर्ने समस्यहरुका बारेमा सहयोग गर्दै आएको सुरक्षित आप्रवासन सूचना केन्द्र खोटाङले पनि दुबै मृतकका समस्यका बारेमा जानकारी नआएको जनाएको छ ।
मलेसिया सरकारले राजदुतावास मार्फत सन् २००२ देखि २००६ अघि ज्यान गुमाएका ३५ नेपाली मृतक परिवारलाई क्षतिपूर्ति दिने भन्दै गत बैसाख २० गते प्रमाणित कागजपत्रको आव्हान गरेको थियो ।