बैशाख–३१, खोटाङको बाक्सिलामा सम्पन्न एकीकृत घुम्ती शिविरबाट ६०१ सर्वसाधारणले नेपाली नागरिकताको प्रमाणपत्र लिएका छन् । 
दुर्गम गाउँका सर्वसाधारणलाई गाउँमै सेवा पु¥याउने उद्धेश्यले आयोजना गरिएको तीन दिने घुम्ती शिविरमा जिल्लाका उत्तरी क्षेत्रका ६०१ सर्वसाधारणले नागरिकताको प्रमाणत्र प्राप्त गरेका हुन् ।
शिविरबाट ११ जना जग्गाधनीले आफ्नो जग्गाको रजिष्ट्रेसन पास लिएको आयोजकले जनाएको छ । घुम्ती शिविरमार्फत जिल्ला प्रशासन, निर्वाचन, स्वास्थ्य, कृषि, मालपोत, महिला तथा बालबालिका लगायतका सरकारी कार्यलयबाट बाक्सिला, बासपानी, खार्ताम्छा, फेदी, सप्तेश्वर, राखाबांदेल, दिप्सुङ, सुङ्देल, जालपा, पाथेका, खार्मी लगायतका गाबिसका सर्वसाधारणले सेवा लिएका छन् । 
यस्तै, जिल्लाको दक्षिणी गाविस स–छितापोखरीको पञ्चमी बजारमा आउँदो जेठ–६ गतेदेखि ९ गतेसम्म र चिसापानी बजारमा जेठ–११ गतेदेखि १५ गतेसम्म एकिकृत घुम्ति शिबीर सञ्चालनको तयारी गरिएको प्रशासनले जनाएको छ ।