जेठ–१, खोटाङमा अवैध हातहतियार बुझाउनेको संख्या बढेको छ । अवैध हातहतियार बुझाउन आग्रह गरेको महिना दिनसम्म एउटापनि हतियार संकलन नभएको जिल्लामा पछिल्लो समय अवैध हातहतियार बुझाउनेको संख्यामा वृद्धि भएको हो । 
दोश्रो पटक दिएको म्याद सकिन लाग्दा जिल्लाका विभिन्न क्षेत्रबाट १२ थान भरुवा बन्दुक संकलन भएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायव उपरीक्षक राजीब बस्नेतले बताउनुभयो । बस्नेतका अनुशार ईलाका प्रहरी कार्यालय बाक्सिलाबाट सबैभन्दा बढि ६ थान अवैध हतियार संकलन भएको छ । 
यस्तै, चिसापानीबाट ३ थान तथा खोटाङबजार र तालखर्कबाट १÷१ थान हतियार संकलन भएको छ । अवैध हतियारबिहिन समाज स्थापना गर्दै शान्ति सुरक्षाको व्यवस्थापनकालागि जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयले गत फागुन दोश्रो हप्ता अवैध हातहतियार बुझाउन सर्वसाधारणलाई आग्रह गरेको थियो ।