जेठ–२, कम मल आएपछि खोटाङमा रासायनिक मलको अभाव भएको छ । माग गरिएअनुसारको मल नआएपछि जिल्लामा यूरिया, डिएपी र पोटास मलको अभाव भएको हो ।
अघिल्लो वर्षको तुलनामा यस वर्ष १७४ मेट्रिक टन घटेर आएपछि यस वर्ष जिल्लामा रासायनिक मलको अभाव भएको जिल्ला कृषि विकास कार्यालय खोटाङका प्राविधिक सहायक फुलकुमार यादवले बताउनुभयो । पाँच सय मेट्रीक टनभन्दा बढि मलको माग रहेको जिल्लामा आर्थिक वर्ष २०६९÷०७० कालागि छुट्टिएको ९१ मेट्रिक टनमध्ये अहिलेसम्म ७४ मेट्रिक टनमात्र मल भित्रिएको छ । 
माग गरेभन्दा कम र समयमा रासायनिक मल नपाएपछि जिल्लाका किसानहरु भने मारमा परेका छन् । गहुँ, मकै, धान लगायतका बर्षे बालीनालीमा मल लगाउनकालागि मल नपाएको याम्खा–१ का दीपबहादुर राईले बताउनुभयो । 
यसैबीच, जिल्लामा मलको मागलाई ध्यानमा राखेर थप रासायनिक मलको ल्याउने पहल भइरहको कृषि बिकास कार्यालयले जनाएको छ । प्राविधिक सहायक शाहका अनुसार थप ६० मेट्रिकटन रासायनिक मल ल्याउने प्रकृया अन्तिम चरणमा पुगेको छ ।