जेठ–३, जिल्ला शिक्षा कार्यालयले शिक्षक छनोट प्रक्रियामा हस्तक्षेप गर्न खोजेपछि खोटाङको एक विद्यालयका शिक्षक छनोट प्रक्रिया अवरुद्ध भएको छ । 
शिक्षा कार्यालयले आफ्नो पक्षका व्यक्तिलाई नियुक्त गर्न खोजेको भन्दै कालिका मावि नेर्पाका विद्यालय व्यवस्थान समितिले  बहिस्कार गरेपछि शिक्षक छनोट प्रक्रिया अवरुद्ध भएको हो ।
नियमावली विपरित शिक्षाले आफ्नो ढंगबाट परीक्षा सञ्चालन गर्न खोजेपछि आफूहरुले छनोट प्रक्रिया बहिस्कार गरेको विव्यास अध्यक्ष माधव राईले बताउनुभएको छ । नियमावली अनुसार विद्यालयले छनोट गरेको रोष्टर शिक्षकको कुनै विना भूमिका शिक्षाका कर्मचारीले आफ्नो ढंगबाट प्रश्नपत्र तयार पारेको, एक जना कर्मचारी बस्ने प्रावधान रहेपनि तीन–तीन जना कर्मचारी परीक्षा हलमा बसेको, आफूहरुलाई अपशब्द गरेकोलगायतका कारण छनोट प्रक्रिया बहिस्कार गरेको अध्यक्ष राईले जानकारी दिनुभयो । 
अध्यक्ष राईले भन्नुभयो, ‘शिक्षाकै एक कर्मचारीकी श्रीमतिलाई नियुक्त गर्ने षडेन्द्र अनुरुप आफूहरुलाई उपेक्षा गरियो, त्यो प्रक्रिया ठीक थिएन ! त्यसैले परीक्षा नै बहिस्कार गरेका हौं ।’ 
अध्यक्ष राईका अनुसार रोष्टर शिक्षकलाई २६ वटा प्रश्न तयार गर्न लगाइएपनि दुईवटा मात्र प्रयोगमा ल्याइएको थियो भने, अन्य प्रश्न शिक्षाका कर्मचारी आफैले तयार पारेका थिए । परीक्षा हलबाट बाहिरिएपछि पुनः निश्पक्ष, भयरहित र हस्तक्षेपरहित परीक्षा सञ्चालन गरिनुपर्ने भन्दै विज्ञप्तीमार्फत माग गरिएको छ । शिक्षाले एकलौटी ढंगबाट परीक्षा सञ्चालन गरेकाले कुनै पनि हालतमा सो परीक्षा कायम नहरने पनि जनाइएको छ ।  
उता, प्रक्रिया अनुसार नै परीक्षा सञ्चालन भएको जिल्ला शिक्षा अधिकारी निर्मलकुमार घिमिरेले बताउनुभएको छ । घिमिरेका अनुसार लिखित परीक्षा सम्पन्न भइसकेकाले नियमावली अनुसार थप प्रक्रिया अगाडि बढाइने छ ।
प्रावि तहको रित्त पदपुर्तीका लागि छनोट समितिले बिहीबार परीक्षा सञ्चालन गरेको थियो । परीक्षामा चार जना परीक्षार्थी सहभागी थिए । समितिका संयोजक समेत रहेका अध्यक्षले लिखित परीक्षा नै बहिस्कार गरेपछि शिक्षक छनोट प्रक्रिया अन्यौलमा परेको छ ।