जेठ–१७ । लगातारको वर्षाका कारण सडक हिलाम्मे भएपछि खोटाङमा सञ्चालित यातायात सेवा हप्तादिनअघिदेखि अवरुद्ध भएको छ । धुले सडक हिलाम्मे बनेपछि दिक्तेल–हलेसी सडक खण्डमा सञ्चालित यातायात सेवा अवरुद्ध भएको हो ।

सडक अवरुद्ध भएपछि लामो तथा छोटो दुरीका सवारी साधन बिच बाटोमै थन्किएको छ । यात्रु तथा मालबाहक सवारीका साधन बिच बाटोमै थन्किएपछि काठमाडौं तथा तराईका जिल्लातर्फ जाने यात्रुहरु पैदल यात्रागरि गन्तब्यतर्फ लागेका छन् ।

सडक बिभागले स्काभेटर प्रयोगगरि चार मिटर रहेको यस सडक खण्ड छ मिटर चौडा बनाउँदा सडकमा थुप्रिएको माटो भिजेकाले सडक अवरुद्ध भएको यातायात व्यवसायीहरु बताउँछन् । सामान लिएर सदरमुकाम दिक्तेल आउने मालबाहक गाडीहरु बिच बाटोमै अलपत्र परेपछि दैनिक उपभोग्य वस्तुको मूल्य समेत एक्कासी वृद्धि भएको छ ।

देनिक उपभोग्य वस्तुहरु दाल, चामल, नुन, तेल, खाना पकाउने ग्याँसलगायतका सामाग्रीमा मूल्य बढाइएको हो । मूल्य वृद्धि भएसँगै उपभोक्ताहरु चर्को मूल्य तिरेर उपभोग गर्न बाध्य भएका छन् ।