जेठ २१ । दुई समुहबीच भएको झगडा छुट्याउनेक्रममा छुरी प्रहारबाट खोटाङमा एक जनाको ज्यान गएको छ ।

पाथेका र जालपाका युवाहरुबीच भएको झगडा छुट्याउनेक्रममा पाथेकाका युवाको छुरी प्रहारबाट खार्मी–६ का ४० वर्षीय ध्रुब श्रेष्ठको ज्यान गएको हो ।

साकेला पर्वको अवशरमा खार्मीको तुर्खास्थित भुमेस्थानमा सोमबार गरिएको भूमे पूजा तथा साकेला नाच भइरहेको समयमा दुई समुहबीच भएको दोहोरो झडप छुट्याउन गएका श्रेष्ठको छुरी प्रहारबाट घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ ।

झगडा छुट्याउनेक्रममा खार्मी–९ का इखबहादुर राई सहित तीन जना घाइते भएका छन् । छुरी प्रहारमा संलग्न पाथेका–२ का २५ वर्षीय अबिन राई, पाथेका–६ का ज्ञानराज राई, पर्वत राई लगायतका समुह फरार रहेका प्रहरी नायब उपरीक्षक राजीव बस्नेतले बताउनु भयो । जालपा, बाक्सिला, तालखर्क लगायतका प्रहरीचौकीबाट परिचालन भएका प्रहरीको टोलीले फरार युवाहरुको खोजी गरिरहेका छन् । मृतक श्रेष्ठको शव पोष्टमार्टमकालागि जिल्ला अस्पताल दिक्तेल ल्याइँदै छ । पूरानो रिसइबिमा जालपा र पाथेकाका केही युवाहरुबीच झगडा भएको प्रहरीको भनाई छ ।

खार्मीको तुर्खामा हरेक वर्ष बैसाख पूर्णीमाको दशमीका दिन भूमे पूजा गर्दै धुमधामकासाथ साकेला नाच नाच्ने प्रचलन रहिआएको छ ।