जेठ २१ । खोटाङमा हुलदंगा मच्याउँदै हिड्ने ६ युवा पक्राउ परेका छन् । लफ्याङका दुई युवालाई बाटो हिँडिरहेको अवस्थामा कुटपिट गर्दै हुलदंगा मच्याउने टेम्मा–६ का २४ वर्षीय डिशन राई, १८ वर्षीय शुभ राई, १८ वर्षीय दिपन भुजेल, २७ वर्षीय युवराज राई, २० वर्षीय रुबिन राई र १८ वर्षीय भुवन राई पक्राउ परेका हुन् ।

टेम्मा र लफ्याङको सिमानामा पर्ने साप्सुखोलामा लफ्याङ–६ का ३८ वर्षीय भगवती घिमिरे र ४५ अमरबहादुर घिमिरेलाई कुटपिट गर्दै हिँडेको उजुरीपछि प्रहरी टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायव उपरीक्षक राजिब बस्नेतले जानकारी दिनुभयो ।

शुक्रबार राती करिब नौं बजेतिर घर फर्कनेक्रममा आक्रमण गर्नमा संलग्न भुवन राईलाई लफ्याङबासीले नियन्त्रणमा लिएर प्रहरीमा बुझाएपछि खटिएर गएको प्रहरी टोलीले अन्य पाँच जनालाई पक्राउ गरेको बस्नेतको भनाइ छ ।

पक्राउ परेका युवाहरुलाई प्रहरी हिरासतमा राखेर कारबाहीको प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।